नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिको लागि आवेदन आह्वान गरेको छ ।
बोर्डले धतोपत्र बजारको विकास तथा विस्तार गर्दै यसको सेवा तथा गणस्तरमा स्वच्छ, निष्पक्ष, पारदर्शी र प्रतिष्पर्धी बनाई धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पहुँच अभिवृद्धि गर्न धितोपत्र बजारमा धितोपत्र दलाल तथा धितोपत्र व्यापारी थप्न लागेको जनाएको छ ।
बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ र सो अन्तर्गत बनेका नियम तथा प्रचलित कानून तथा सर्तहरूको अधीनमा रही धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको रूपमा धितोपत्र व्यवसाय गर्न चाहने संगठित संस्था वा कम्पनीलाई अनुमतिपत्र प्रदान गर्ने कार्य अगाडि बढाइएको जनाएको छ ।
धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्र प्राप्त गर्न चाहनेले ३० दिनभित्र निवेदन पेस गर्न आग्रह गरेको छ ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ र सो अन्तर्गत बनेका नियम तथा प्रचलित कानूनको अधीनमा रही धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको रूपमा धितोपत्र व्यवसाय गर्न इच्छुक, धितोपत्र सम्बन्धी ऐन तथा नियमावली बमोजिम योग्यता पुगेका संथाले यो सूचना प्रकाशित भएको मितिले तीस (३०) दिन भित्र धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ मा तोकिए बमोजिम निवेदन, निवेदन दस्तुर विवरण तथा कागजात संलग्न गरी बोर्ड समक्ष निवेदन पेस गर्नुपर्नेछ ।
निवेदन पेस गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा सोको लगत्तै कार्यालय खुलेको दिन कार्यालय समय भित्र निवेदन बुझाउन सकिनेछ र।निवेदन पेस गर्दा निवेदकको नाम, ठेगाना ‚पष्ट खुल्ने गरी नेपाल धितोपत्र बोर्डलाई सम्बोधन गरी धितोपत्र व्यवसायी ९धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ मा उल्लेखित कागजात तथा विवरणहरू पेस गर्नुपर्नेछ ।
सरकारले चुक्तापुँजी बढाएर विभिन्न क्राइटेरिया तोक्दै योग्यता पुगेका सबै कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्स दिने निर्णय गरेको हो । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली २०६४ संशोधन गर्दै नयाँ ब्रोकरको लाइसेन्स दिन बाटो खोलेको हो।
ब्रोकर कम्पनीको चुक्ता पुँजीलाई तीनवटा तहमा विभाजन गरेर २० करोड रुपैयाँ, ६० करोड रुपैयाँ र डेढ अर्ब रुपैयाँ तोकिएको छ ।
नयाँ व्यवस्थाअनुसार धितोपत्र दलाल र धितोपत्र व्यापारी लाइसेन्सको दस्तुर पनि बढेको छ । सबैभन्दा महंगो स्टक डिलरको लाइसेन्सको एक करोड रुपैयाँ छ । डिलर निवेदनको दस्तुर दुई लाख छ ।
यस्तै, ब्रोकर लाइसेन्सका लागि हरेक वर्ष नवीकरण शुल्क पनि बुझाउनु पर्नेछ । बोर्डले वार्षिक पाँच लाख रुपैयाँ नवीकरण शुल्क डिलर लाइसेन्सबापत लिनेछ ।
त्यसैगरी, विभाजन गरिएका अन्य दुई लाइसेन्सको दस्तुर पनि बोर्डले ५० लाख र २५ लाख निर्धारण गरेको छ । जसमध्ये पूर्ण कार्य गर्ने धितोपत्र दलाल लाइसेन्सको शुल्क ५० लाख रुपैयाँ छ भने धितोपत्र दलाल सेवाका लागि बोर्डले २५ लाख प्रति लाइसेन्स तोकेको हो ।
पूर्ण कार्य गर्ने धितोपत्र दलाल लाइसेन्सको निवेदन दस्तुर भने एक लाख छ भने सामान्य धितोपत्र दलाल सेवाको ५० हजार रुपैयाँ छ । त्यस्तै, नवीकरणका लागि पूर्ण कार्य गर्ने धितोपत्र दलाल लाइसेन्स होल्डरहरूले वार्षिक ३ लाख रुपैयाँ शुल्क बुझाउनेछन् । सामान्य धितोपत्र दलाल सेवाको वार्षिक शुल्क भने डेढ लाख निर्धारण गर्न प्रस्ताव गरिएको छ ।