यस वर्ष आर्थिक वृद्धि ४.५ प्रतिशतमा सीमित हुने

पुँजी लगानी नै अपुग रहेकाले लक्ष्यअनुसार आर्थिक वृद्धि नहुने

यस वर्ष आर्थिक वृद्धि ४.५ प्रतिशतमा सीमित हुने

अर्थतन्त्रमा चुनौती थपिँदै गइरहेको प्रतिकूल समयमा लिएको आर्थिक वृद्धिको महवाकांक्षी लक्ष्य पूरा नहुने देखिएको छ । चालू आर्थिक वर्षको बजेटमार्फत ८ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको सरकार आफैँले ४.५ प्रतिशत मात्रै पुग्ने बताएको हो । 

राष्ट्रिय स्रोत अनुमान समितिले चालू आर्थिक वर्षमा ४।५ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको हो । सरकारले चालू आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षा गर्दै खर्च र राजस्वका सबै लक्ष्य संशोधन गरिसकेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मध्यावधि समीक्षापछि पत्रकार सम्मेलन गर्दै जनतालाई झुक्याउने गरी पूरा हुन नसक्ने ८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य लिएको भन्दै पूर्ववर्ती सरकारको आलोचनासमेत गरेका थिए । उनले पुँजी लगानी नै अपुग रहेकाले लक्ष्यअनुसार आर्थिक वृद्धि नहुने बताएका थिए । 

चालू आवको बजेट घोषणा गर्दै गर्दा शोधनान्तर स्थिति निरन्तर घाटामा गइरहेको र विदेशी मुद्राको ढुकुटीसमेत रित्तिँदै गएको अवस्था थियो । बजेट भाषण गर्नुअघि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको तथ्यांकले देशको शोधनान्तर स्थिति दुई खर्ब ८८ अर्बले घाटामा र विदेशी विनिमय सञ्चिति ६ महिना १७ दिनको आयात धान्न मात्रै पर्याप्त थियो । सोही कारण सरकारले बाह्य क्षेत्रको दबाब बढ्दै गएपछि १० प्रकारका वस्तुहरूको आयातमाथि प्रतिबन्ध लगाएको थियो ।

साथै, राष्ट्र बैंकले विलासिताका वस्तु आयातमा यसअघिदेखि नै शतप्रतिशत नगद मार्जिनको व्यवस्था गरेको थियो । बजारमा माग नै संकुचित बनाउनुपर्ने दबाबका बीच सरकारले लिएको महत्वाकांक्षी लक्ष्य नपुग्ने निश्चितप्रायः थियो । बजारको वस्तुस्थिति बुझ्दाबुझ्दै पनि तत्कालीन चुनौतीलाई नजरअन्दाज गरेर महत्वाकांक्षी लक्ष्यसहित बजेट ल्याउनुको परिणामस्वरूप अहिले लक्ष्य संशोधन गर्नुपरेको अर्थशास्त्रीहरूको टिप्पणी छ  ।

सरकारसँग राष्ट्रिय तथ्यांक कार्यालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक, त्रिभुवन विश्वविद्यालयजस्ता अध्ययन र तथ्यमा काम गर्ने विभिन्न निकाय छन् । ती निकायका विज्ञहरूमाथि राज्यको ठूलो धनराशि खर्च गर्दै आए पनि लक्ष्य निर्धारणमा सधैँ कमजोर बन्दै गइरहेको अर्थशास्त्री केशव आचार्यले बताए । उनले भने, ‘विज्ञहरूमाथि राज्यको ठूलो लगानी छ । तर, राजनीतिक नेतृत्वले ती विज्ञको विज्ञतालाई कहिल्यै पनि उपयोग गरेनन् । उनीहरूलाई आफ्नो राजनीतिक महत्वाकांक्षा पूरा गर्न र अघिल्ला अर्थमन्त्रीहरूले लिएका लक्ष्यभन्दा कसरी बढाउने भन्ने मात्रै ध्येय हुने भएकाले हाम्रोमा यस्ता लक्ष्य र अनुमानहरू हचुवामा गरिँदै आइएको छ ।’

चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले समेत बाह्य क्षेत्रको दबाबका कारण माग संकुचित गर्ने नीति लिँदै कर्जामा समेत कडाइ गरेको थियो । बजेटको महत्वाकांक्षी लक्ष्य र केन्द्रीय बैंकको कसिलो नीतिका कारण अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच समन्वयको अन्तर देखिन्थ्यो । अन्ततः अर्थ मन्त्रालयले आफ्नो महत्वाकांक्षी लक्ष्यलाई संशोधन गर्नुपरेको छ । 

विगतका तथ्यांक हेर्दा सरकारले र७५ मा सरकारले ७.६२ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य लिएकोमा ७.२ प्रतिशतको हाराहारी वृद्धिदर हासिल गरेको थियो । तर, त्यसपछिका लक्ष्यहरूसँग आर्थिक वृद्धिदरको उपलब्धिको अन्तर बढ्दै गइरहेको देखिन्छ । ०७५/७६ मा ८ प्रतिशतको लक्ष्य लिएकोमा ६.६६ प्रतिशतको उपलब्धि भएको थियो । ०७६/७७ मा ८.५ प्रतिशतको लक्ष्य लिएकोमा २.३७ प्रतिशतले वृद्धिदर ऋणात्मक बनेको थियो ।

कोभिड महामारीका कारण त्यस आर्थिक वर्षमा आर्थिक गतिविधि संकुचित हुँदा आर्थिक वृद्धिदर ऋणात्मक बनेको थियो । अप्रत्याशित रूपमा आइपरेको महामारीका कारण आर्थिक वृद्धिदर खुम्चिनुलाई अर्थशास्त्रीहरूले स्वाभाविक मानेका थिए । यद्यपि, संकटको अन्त्य नहुँदै सरकारले त्यसपछिका आर्थिक वर्षहरूमा पनि महत्वाकांक्षी लक्ष्य लिन छाडेन । त्यसपछिका लगातार दुई आर्थिक वर्षमा सरकारले ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यलाई निरन्तरता दियो । पहिलो आवमा ४.२५ प्रतिशत वृद्धिदर भयो भने दोस्रो वर्षमा ५.८ प्रतिशत वृद्धिदर कायम भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । 

बाह्य क्षेत्रको दबाब र आर्थिक चुनौतीलाई ख्यालै नगरी निर्धारण गरिने यस्ता लक्ष्यहरूले सरकार संसद्प्रतिको वित्तीय उत्तरदायी नभएको सन्देश गएको अर्थशास्त्री आचार्यको टिप्पणी छ । त्यस्तै, सार्वजनिक तथ्यांकको आधिकारिक जिम्मेवारी पाएको राष्ट्रिय तथ्यांक विभागले निर्धारण गर्ने लक्ष्यसमेत यथार्थपरक बन्न नसकेको उनको भनाइ छ । उनले भने, ‘अन्य मुलुकमा यस्तो निकायले योजना तर्जुमा गर्दा नै आफ्नो प्रक्षेपण सार्वजनिक गर्ने गरेको छ । तर, हाम्रोमा तथ्यांक कार्यालयले प्रक्षेपण गर्नै सकेको छैन । उसले त आर्थिक वर्ष सकिँदै जाँदा मात्रै अनुमान निकाल्ने गरेको छ ।’ 

अन्तर्राष्ट्रिय संघ–संगठनहरूले प्रत्येक आर्थिक वर्षमा हुने आर्थिक वृद्धिदरको प्रक्षेपण सार्वजनिक गरिरहेका हुन्छन् । गत जनवरीमै अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)ले सन् २०२२ मा आर्थिक वृद्धिदर ४.१ प्रतिशत पुग्ने अनुमान गरेको थियो । तर, यसै महिनामा नयाँ अनुमान सार्वजनिक गर्दै ४.२ प्रतिशतको आर्थिक वृद्धि हुने बताएको छ । 

खबरपाटी
खबरपाटी