एकै दिनमा झन्डै ७ अर्ब डलर नेटवर्थ बढेपछि फेरि विश्वकै सबैभन्दा धनी बने एलन मस्क

अमेरिकी विद्युतीय सवारी सधान निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्क पुनः विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन्

एकै दिनमा झन्डै ७ अर्ब डलर नेटवर्थ बढेपछि फेरि विश्वकै सबैभन्दा धनी बने एलन मस्क

काठमाडौं । अमेरिकी विद्युतीय सवारी सधान निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्क पुनः विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । अमेरिकी व्यवसायिक पत्रिका ब्लुम्बर्गको अर्बपतिहरुको सूचीअनुसार एकै दिनमा झन्डै ७ अर्ब डलर नेटवर्थ थपिएपछि उनी पुनः सूचीको पहिलो नम्माबरमा आएका छन् ।

मंगलवार ब्लुम्बर्गको बिलेनियर्स इन्डेक्समा मस्कको नेटवर्थ १ खर्ब ८७ अर्ब डलर छ । यो अघिल्लो दिनको भन्दा ६ अर्ब ९८ करोड डलर धेरै हो । सूचीमा दोस्रो स्थानमा झरेको फ्रान्सेली लक्जरी व्यापारी बर्नार्ड आर्नोको नेटवर्थ भने १ खर्ब ८५ अर्ब डलर छ । एक दिन अघिको तुलनामा आर्नोको सम्पत्ति पनि ३ अर्ब ६९ करोड डलर बढेको छ । तेस्रो स्थानमा १ खर्ब १७ अर्ब डलरसहित अमेरिकी अनलाइन खुद्रा विक्रेता कम्पनी एमाजनका जेफ बेजोस छन् । 

यो वर्षको अहिलेसम्मको अवधिमा टेस्लाको शेयर मूल्य ७० प्रतिशतभन्दा धेरैले बढेको छ । केही महीना यता प्रविधि क्षेत्रको शेयरमा देखिएको सेल अफ र अन्य विवादका कारण कम्पनीको शेयर मूल्य ओरालो लाग्दा अर्बपतिको सूचीमा मस्कको वरियता पनि खस्किएको थियो । डिसेम्बरमा आर्नोले मस्कलाई उछिनेर विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका थिए । जनवरी ३ मा टेस्लाको शेयर मूल्य प्रतिकित्ता १०८ डलर १० सेन्ट थियो । सोमवार बजार बन्द हुँदा यो २०७ डलर ६३ सेन्टमा उक्लिएको थियो ।

गएको वर्ष मस्कको लागि निकै उतारचढावमय रह्यो । अमेरिकी माइक्रोब्लगिङ वेबसाइट ट्विटर किनेयता टेस्लाको शेयरमा दबाब देखिएको छ । तर यो वर्ष मस्कको लागि फापेको देखिन्छ । मस्कको अहिलेको सम्पत्ति सन् २०२१ को अन्त्यतिरको भन्दा चाँहि निकै कम हो । त्यति बेला उनको नेटवर्थ ३ खर्ब डलर भन्दा धेरै थियो । त्यसपछि उनले टेस्लाको करीब २० अर्ब डलरको शेयर बेचेर ट्विटर किन्ने पैसा जुटाउन थाले । अनि २०२२ मा टेस्लाको शेयर मूल्यमा तीव्र कमी आयो ।

अमेरिकाले महँगीमा अंकुश लगाउन धमाधम ब्याजदर बढाउन थालेपछि टेस्लाको शेयर झनै रातो भयो । यो वर्ष पनि मस्कले आफ्नो अधिकांश ध्यान ट्विटर मै दिएका छन् । तर अहिले भने लगानीकर्ताहरुले टेस्लामा फर्किन थालेका छन् । मस्कले टेस्लाको झन्डै १ करोड १६ लाख कित्ता शेयर परोपकारी संस्थानालई दिएका थिए । यसको मूल्य २ अर्ब ४० करोड हाराहारी भएको बताइएको छ । मस्कले सन् २०२१ म पनि करीब ६ अर्ब डलर बराबरको शेयर दान दिएका थिए । यो विश्वको इतिहासको सबैभन्दा ठूलो दान थियो । एजेन्सी

खबरपाटी
खबरपाटी