फ्रान्समा मजदुर र कर्मचारीद्धारा अनिश्चितकालीन हडताल

प्रहरीका अनुसार हडतालमा १२ लाख ८० हजारको सहभागिता थियो भने हडताल आह्वानकर्ता फ्रान्सको सर्वाधिक ठूलो ट्रेड युनियन सिजिटीका अनुसार ३५ लाखले सहभागिता जनाए

फ्रान्समा मजदुर र कर्मचारीद्धारा अनिश्चितकालीन हडताल

पेरिस । राष्ट्रपति इमानुएल म्याक्रोंले ल्याएको सेवानिवृत्ति उमेर ६४ वर्षमा पुर्‍याउने योजनाको विरोधमा फ्रान्समा मंगलबार भएको हडतालको प्रभाव देशभर परेको छ । विरोधमा उत्रिएका मजदुर कर्मचारीले यातायात र विद्यालय अवरुद्ध पारेका थिए । 

पेरिसमा सुरक्षाकर्मीमाथि आन्दोलनकर्मी जाइलागेको र सार्वजनिक सम्पत्ति तथा व्यापारिक केन्द्र तोडफोड गर्न लागेपछि प्रहरीले अश्रुग्यास प्रयोग गरेको बताएको छ । आन्दोलनकारीले यातायातका साधनमा आगजनी गरेको र केही पसल र सार्वजनिक भवनमाथि पनि तोडफोड गरेको प्रहरीको भनाइ छ। राजधानीको पश्चिमी क्षेत्रमा रहेको नँत सहरमा पनि केही झडपहरू भएका छन् । फ्रान्सको तेस्रो ठूलो सहर लियोंमा पनि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

मजदुर हडतालका कारण पाँचमध्ये एक मात्र क्षेत्रीय र उच्च गतिका रेल चलेका थिए । पेरिस मेट्रो प्रणालीले भने कर्मचारी अभावका कारण न्यून संख्यामा चलाउनुपरेको बताएको छ ।

राजधानी पेरिसनजिकको प्रमुख चार्ल्स(द(गोल अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा मात्र धावनमार्ग खुला रहेकाले धेरै विमानहरुलाई असर परेको फ्रँस रेडियो इन्टरनेसनलले जनाएको छ । सुरक्षाको जिम्मेवारीमा रहेका अग्निनियन्त्रकहरू हडतालमा गएका कारण विमानहरुको उडान ढिलाइ भएको थियो।

प्रहरीका अनुसार हडतालमा १२ लाख ८० हजारको सहभागिता थियो भने हडताल आह्वानकर्ता फ्रान्सको सर्वाधिक ठूलो ट्रेड युनियन सिजिटीका अनुसार ३५ लाखले सहभागिता जनाए । पेरिसको प्रहरी मुख्यालयले गरेको गणनाअनुसार पेरिसको सडकमा झन्डै ८१ हजार प्रदर्शनकारी उपस्थित थिए । सिजिटीले पेरिसको जुलुसमा सात लाख प्रदर्शनकारी रहेको दाबी गरेको छ । आन्दोलनकारीका अनुसार देशभरका २६० भन्दा बढी स्थानबाट कर्मचारीहरुले जुलुस निकालेका छन् ।रेन सहरमा आन्दोलनकारीहरुले आगो, काठका टुक्रा र अन्य वस्तुले केही दंगा प्रहरीहरुमाथि जाइलागेको प्रहरीको भनाइ छ । हडतालका कामदारहरूले फ्रान्सभरि रिफाइनरीहरूबाट इन्धन डेलिभरी पनि अवरुद्ध पारेका थिए।

मंगलबारबाट हडताल सुरु भनिए पनि फ्रान्सको यातायात कम्पनी एसएनसीएफलगायतका केहीले सोमवार साँझबाटै हडताल सुरु गरेका थिए । मंगलबार बिहानैदेखि फ्रान्सको लियों, लिल, मार्सेई, एभिन्यिँयो, मोंपलिएलगायतका दर्जनौं सहरमा प्रदर्शन सुरु भइसकेको थियो । सार्वजनिक सडक सूचना सेवाले रिपोर्ट गरेअनुसार रेन सहरको राष्ट्रिय सडक बिहान १ बजेदेखि नै प्रदर्शनकारीहरूले अवरुद्ध गरेका थिए ।

मंगलबारदेखि सुरु भएको हडतालका क्रममा युनियनहरूले सार्वजनिक यातायातमा रोलिंग हड्ताल गर्ने चेतावनी दिएका छन् जसले देशका केही भागहरूलाई केही हप्तासम्म पक्षघात गर्न सक्ने त्रास फैलिएको छ । हडताल जताततै सुरु भएको र मंगलबार बिहान सबै रिफाइनरीहरूबाट डेलिभरी अवरुद्ध भएको सीजीटीका शाखा संयोजक एरिक सेलिनले मंगलबार साँझ बताएका छन् ।

फ्रान्सका ट्रेड युनियनहरूले राष्ट्रपति इमानुएल म्याक्रोंले पारित गर्न खोजेको निवृत्तिभरण सुधार विधेयकलाई चुनौती दिँदै राष्ट्रपतिसँग मुठभेडका लागि अघि बढेको फ्रान्स २४ टीभीले उल्लेख गरेको छ ।

मंगलबारको हडतालका क्रममा युनियनहरूले यदि राष्ट्रपतिले प्रस्ताव गरेको विधेयक फिर्ता नलिए देशलाई हलचल गर्नै नसक्ने अवस्थामा पुर्‍याउने चेतावनी दिएका छन् । निवृत्तिभरण योजनाअनुसार सेवानिवृत्तिको उमेर ६२ बाट ६४ मा बढाउनुका साथै कर्मचारीहरूले पूर्ण निवृत्तिभरण पाउनको लागि काम गर्नुपर्ने वर्षहरूको संख्या बढाउनु पर्छ।

राष्ट्रपतिले हालको पेन्सन प्रणालीलाई देशले धान्नै नसक्ने र आगामी वर्षहरूमा पेन्सन प्रणालीलाई घाटामा पर्नबाट रोक्नको लागि परिवर्तनहरू आवश्यक भएको बताउँदै आएका छन् । सरकारले सन् २०३० सम्ममा फ्रान्सको पेन्सन प्रणालीलाई घाटाबाट बाहिर निकाल्नका लागि यो परिवर्तन महत्त्वपूर्ण भएको तर्क गरेको छ। राष्ट्रपतिद्वारा गरिएको प्रस्तावहरूले फ्रान्सलाई यसको युरोपेली छिमेकीहरूसँगको लाइनमा ल्याउनेछ, जसमध्ये अधिकांशको अवकाश उमेर ६५ वा माथि छ। तर युनियनहरूले उनको भनाइमा आपत्ति जनाएका छन् ।

मजदुर युनियनहरूका अनुसार नागरिकले सेवाको योगदानमा सानो वृद्धि गरिदिए पनि यसलाई सुधार गर्न सकिन्छ र राष्ट्रपतिले राखेको गम्भीर प्रस्ताव आवश्यक छैन । गत स्थानीय निर्वाचनमा राष्ट्रपतिको पार्टीले स्पष्ट बहुमत ल्याउन नसकेका कारण राष्ट्रपतिको पार्टी र सरकारले संसद् र सडक दुवैबाट कडा प्रतिरोधको सामना गर्नु परेको छ ।

खबरपाटी
खबरपाटी