अर्थतन्त्रमा स्थायित्वका लागि आन्तरिक उत्पादनमा जोड

अर्थतन्त्रमा स्थायित्वका लागि आन्तरिक उत्पादनमा जोड दिनुपर्ने विज्ञहरूले बताएका छन्

अर्थतन्त्रमा स्थायित्वका लागि आन्तरिक उत्पादनमा जोड

काठमाडौँ । अर्थतन्त्रमा स्थायित्वका लागि आन्तरिक उत्पादनमा जोड दिनुपर्ने विज्ञहरूले बताएका छन् । राजधानीमा शुक्रबार आयोजित दोस्रो अर्थशास्त्री सम्मेलनका वक्ताले आयात र विप्रेषणमा आधारित अर्थतन्त्रबाट मुलुकले खाजेको समृद्धि प्राप्त नहुने बताए । 

कार्यक्रममा नेपाली कांगे्रसका महामन्त्री गगन थापाले पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सबै गम्भीर हुनुपर्ने समय आएको बताए । 

अर्थतन्त्र र विकासका सम्बन्धमा वडाध्यक्षदेखि प्रधानमन्त्री सबैलाई विशेष किसिमको तालिम नै आवश्यक परेको उनको भनाइ थियो । अर्थतन्त्रमा संरचनात्मक समस्या नै भएकाले त्यसलाई बदल्न जरुरी रहेको उनले बताए । 

“अहिले हाम्रो अर्थतन्त्रका बारेमा जुनसुकै क्षेत्रबाट चिन्ता व्यक्त भएको देखिन्छ, संरचनात्मक सुधारबिना अर्थतन्त्रको दीर्घकालीन समाधान हुन सक्दैन,” उनले भने। कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैङ्कको लगानी गर्ने क्षमतामा बिस्तारै सुधार आइरहेको बताए । विगतमा कतिपयले कर्जाको दुरुपयोग गरेका कारण केही नीतिमा सुधार गर्नुपरेको उनको भनाइ थियो । बैङ्किङ क्षेत्रमा बिस्तारै सुधार देखिन थालेकाले सबै कुरालाई नकारात्मक रूपमा नलिन उनले आग्रह गरे ।

कार्यक्रममा पूर्वमुख्यसचिव लीलामणि पौडेलले आयातमा गरिएको प्रतिबन्धका कारण उद्योगधन्दाले समेत समस्या भोग्नुपरेको बताए । यसले अर्कोतिर मुलुकको राजस्व नै घट्दा सरकारी खर्च पनि कम भएकाले आर्थिक गतिविधि सुस्ताएको उनको भनाइ थियो । 

आयातका कारण अर्थतन्त्रमा देखिने यस्तो समस्यालाई समाधान गर्न पनि स्वदेशी वस्तु उत्पादन र प्रयोगमा जोड दिनुपर्ने उनको सुझाव थियो । 

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान)का अध्यक्ष कृष्ण आचार्यले राज्यले लिएका नीति सहयोगात्मकभन्दा पनि निषेधात्मक हुँदा निजी क्षेत्रले अनुकूल वातावरणमा काम गर्न नपाएको बताए । उद्योगधन्दा तथा लगानीका क्षेत्रमा वर्षौंदेखि एकद्वार प्रणाली घोषणा गरिए पनि त्यस्ता हुन नसकेको उनको गुनासो थियो । 

राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले सहकारीले अर्थतन्त्रमा धेरै ठूलो योगदान दिए पनि राज्यबाट सोअनुसार नीतिगत सहयोग नभएको बताए । केही सहकारीको समस्याका कारण समग्र सहकारी क्षेत्रलाई नै बदनाम गराउने प्रवृत्ति ठीक नभएको उनको भनाइ थियो । 

खबरपाटी
खबरपाटी