सिरियाली राष्ट्रपति असद भूकम्पपछि दोस्रो पटक खाडी भ्रमणका क्रममा युएईमा

सिरियाका राष्ट्रपति बशर अल असद आइतबार संयुक्त अरब इमिरेट्स (युएई) पुग्नुभएको छ ।

सिरियाली राष्ट्रपति असद भूकम्पपछि दोस्रो पटक खाडी भ्रमणका क्रममा युएईमा

 काठमाडौं । सिरियाका राष्ट्रपति बशर अल असद आइतबार संयुक्त अरब इमिरेट्स (युएई) पुग्नुभएको छ । गत महिना गएको विनाशकारी भूकम्पपछि खाडी मुलुकमा यो उहाँको दोस्रो भ्रमण हो । 

सन् २०११ मा सिरियाको युद्ध शुरु भएयता अरब मुलुकहरूमा असदको एक मात्र औपचारिक संलग्नता रहेको गत महिना भएको ओमानको भ्रमणपछि संयुक्त अरब इमिरेट्स (युएई) मा असदको यो दोस्रो भ्रमण हो ।

सिरियाली अरब गणतन्त्रका राष्ट्रपति असद आफ्नी पत्नी अस्मासँग औपचारिक भ्रमणका लागि आईतवार संयुक्त अरब इमिरेट्स (युएई) पुग्नुभएको युएईको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले राजधानी अबुधाबीमा सिरियाली नेतालाई स्वागत गरेको सरकारी समाचार संस्था डब्लुएएमले जनाएको छ ।

सन् २०१८ मा असद सरकारसँग सम्बन्ध सामान्य बनाएको अबुधाबीले फेब्रअरी ६ मा दक्षिणपूर्वी टर्की र उत्तरी सिरियामा गएको विनाशकारी भूकम्पपछि सहायता प्रयासको नेतृत्व गरेको थियो ।

विश्लेषकहरूका अनुसार भूकम्पपछिको सहायता प्रयासबाट उत्पन्न कूटनीतिक गतिले दमास्कसको मध्यपूर्वका देशहरूसँगको सम्बन्धलाई बलियो बनाउन सक्छ ।
 
युएईले भूकम्प प्रभावित सिरियाका लागि १० करोड अमेरिकी डलरभन्दा बढी सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।

उसले खोजी तथा उद्धार टोली पनि पठाएको थियो र हजारौं टन आपतकालीन राहत सामग्री उपलब्ध गराएको थियो ।

संयुक्त अरब इमिरेट्स (युएई) का विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाह्यानले गत महिना सिरियाको भ्रमण गर्नुभएको थियो । 

सिरियामा भएको युद्धको समयमा असद सहयोगी इरान र रूसबाहेक कमै मात्र विदेश जानुभएको थियो । असद्ले यसै साता रूसको पनि भ्रमण गरी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्नुभएको थियो । 

बिहीबार इरानका उच्च सुरक्षा अधिकारी अली शमखानीले अबुधाबीमा संयुक्त अरब इमिरेट्सका राष्ट्रपतिलाई भेट्नुभएको थियो भने संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रिय सुरक्षा सल्लाहकार शेख तहनुन बिन जायद अल नाह्यानसँग भेटवार्ता गर्नुभएको थियो ।
 
सिरियाका लागि भूकम्प सहायता पठाएको साउदी अरबका विदेशमन्त्रीले पनि गत महिना अरब जगतमा भूकम्पलगायत मानवीय सङ्कटलाई सम्बोधन गर्न दमास्कसप्रति नयाँ दृष्टिकोण आवश्यक पर्ने सहमति निर्माण भइरहेको बताउनुभएको थियो । पछिल्लो समय मध्यपूर्वमा कुनै समय कुटनीतिक सम्बन्धसमेत नरहेका मुलुकहरूबीच सम्बन्ध पुनः स्थापनाको लहर देखिन थालेको छ ।रासस

खबरपाटी
खबरपाटी