बागमतीमा एमालेले सरकार नछाडेपछि मुख्यमन्त्री जमकट्टेल संकटमा

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन अगाडि केन्द्रमा नयाँ गठबन्धन

बागमतीमा एमालेले सरकार नछाडेपछि मुख्यमन्त्री जमकट्टेल संकटमा

काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन अगाडि केन्द्रमा नयाँ गठबन्धन बनेपछि त्यसको असर प्रदेशमा पर्नसक्ने अनुमान भइरहँदा एमालेले प्रदेशमा सरकार छाडेको छैन । अझै पनि कोसी, गण्डकी र लुम्बिनीमा एमाले नेतृत्वको सरकार छ । बागमती, कर्णाली र मधेस प्रदेश सरकारमा एमाले सहभागी छ ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत ८ गते विश्वासको मत लिने घोषणा गरेका थिए । उनको सरकारमा एमालेका मन्त्रीहरू अझै छन् । त्यसैले विश्वासको मत लिँदा जमकट्टेललाई कांग्रेस र एकीकृत समाजवादीले मत नदिए पुग्दैन । प्रदेशमा ३७ सांसदसहित नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । एमालेसँग २७ सांसद छन् । माओवादीसँग २१ सांसद छन् । सरकार बनाउन बहुमतका लागि ५६ सांसद चाहिन्छ । १३ सांसद रहेको राप्रपा समर्थन फिर्ता लिँदै बाहिरिसकेको छ ।

बागमतीमा एमाले, माओवादी र एकीकृत समाजवादी मिलेर पनि सरकार बन्दैन । राप्रपाको साथ चाहिन्छ । राप्रपाले पहिले दिएको समर्थन फिर्ता लिएकाले अब फेरि दिन्छ भन्ने अवस्था छैन । त्यसैले जमकट्टेलले कांग्रेसबाहेकको गठबन्धन बनाउन पनि नेमकिपा वा हाम्रो नेपाली पार्टीको साथ लिनुपर्ने हुन्छ । तर केन्द्रमा बनेको समीकरणअनुसार जमकट्टेल बाहिर जाने अवस्था छैन ।

सोही कारण उनले विश्वासको मत लिनुअघि केन्द्रमा कांग्रेस र एकीकृत समाजवादीसँग छलफल सुरु गरेका छन् । एमालेले सरकारलाई दिएको समर्थन जारी राख्ने वा मन्त्रीबाट राजीनामा दिएर प्रतिपक्षमा बस्ने अझै निर्णय नलिएकाले संकटमा परेका जमकट्टेलले अब चाल्ने निर्णयमै सरकारको भविष्य तय हुनेछ ।

यदि जमकट्टेलले विश्वासको मत लिन सकेनन् भने सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा मुख्यमन्त्री बन्ने छन् । उनले ३० दिनभित्र विश्वासको मत लिन सकेनन् भने मात्र प्रदेशमा मध्यावधि हुनेछ । सोही कारण आधा आधा कार्यकाल बाँडेर विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री जमकट्टेल जुटेका छन् ।

खबरपाटी
खबरपाटी