मलावीमा चक्रवात फ्रेडीबाट ५०० जनाको मृत्यु, पाँच लाख विस्थापित

विपद् व्यवस्थापन विभागले ४७६ जनाको मृत्यु भएको तथा चार लाख ९० हजार विस्थापित भएका बताए

मलावीमा चक्रवात फ्रेडीबाट ५०० जनाको मृत्यु, पाँच लाख विस्थापित

ब्लान्टायर (मलावी) । दक्षिण मलावीमा भीषण चक्रवात फ्रेडीबाट ५०० जनाको मृत्यु भएको छ भने पाँच लाख आठ हजार २४४ जना विस्थापित भएका छन् ।

यसअघि सरकारी विपद् व्यवस्थापन विभागले ४७६ जनाको मृत्यु भएको तथा चार लाख ९० हजार विस्थापित भएका बताएको थियो । आँधीबाट एक हजार ३३२ जना घाइते भएका छन् भने ४२७ जना हराइरहेका जनाएको थियो ।

आँधीबाट देशको राजधानी ब्लान्टायरमा व्यापक क्षति भएको छ । राजधानीका धेरै घर पहिरोमा पुरिएका छन् । आँधी प्रभावित क्षेत्रका पुल र सडक भत्किएका छन् । विस्थापित परिवारको व्यवस्थापनका निम्ति ३३४ केन्द्र खडा गरिएको विभागका आयुक्त चाल्र्स कलेम्बाले बताएका छन् ।

मलावीको शिक्षा मन्त्रालयले यो महिनाको अन्त्यसम्म विद्यालय बन्द गर्ने घोषणा गरेको छ । विस्थापित परिवारलाई विद्यालयमा व्यवस्थापन गरिएकाले पठनपाठन स्थगन गरिएको उक्त मन्त्रालयले जनाएको छ ।

छिमेकी ताञ्जानिया र जाम्बियाका साथै संयुक्त अधिराज्यको सहयोगमा देशको सुरक्षा बल, प्रहरी र उद्धारकर्मीको टोलीले खोज तथा उद्धारलाई जारी राखेका छन् । सडक सम्पर्कबाट विच्छेद भएका स्थानमा हवाई सेवामार्फत राहत सामग्री, औषधिका साथै उद्धारकर्मी पु-याइएको छ ।

देशका १५ जिल्ला आँधीबाट प्रभावित भएका छन् भने औसतभन्दा अधिक वर्षा भएर प्रभावितमध्येका तीन जिल्लामा जनजीवन कष्टकर बनेको छ । ती जिल्लामा चक्रवात साम्य भए पनि भारी वर्षा भएको छ ।

चक्रवात प्रभावित क्षेत्रको भ्रमणपछि मलावीका राष्ट्रपति लाजरस चकवेरालले विदेशी नियोग, सरकार, स्थानीय एवम् अन्तर्राष्ट्रिय संस्था एवम् कम्पनीसँग सहायताका निम्ति अपिल गरेका थिए । राष्ट्रपतिको अपिलअनुरुप ती निकायले सहायता परिचालन गरे पनि त्यो पर्याप्त नभएको राहत तथा उद्धारमा संलग्न अधिकारीहरूले गुनासो गरेका छन् ।

यसैबीच, दक्षिण अफ्रिकी विकास समुदायले मानवीय सहायतास्वरूप मलावीलाई तीन लाख अमेरिकी डलर उपलव्ध गराउने घोषणा गरेको छ ।

खबरपाटी
खबरपाटी