काठमाडौं । सर्वसाधारणलाई स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि वेदकोट नगरपालिकामा पन्ध्र शैय्याको अस्पताल भवन निर्माण अगाडि बढाइएको छ ।
नगरपालिकाको वडा नं ३ मा ९ करोड ७४ लाखको लागतमा अस्पताल भवन निर्माण हुन लागेको हो । अस्पताल भवन निर्माणका लागि राजेन्द्र निर्माण सेवा कम्पनीलाई जिम्मा दिइएको छ । निर्माण कम्पनीसँग अस्पताल निर्माणका लागि दुई वर्षअघि ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भएपनि साइड क्लियर नहुँदा निर्माण ढिलो गरी सुरु भएको छ । नगरप्रमुख भोजराज बोहराले अस्पताल निर्माण अगाडि बढेको बताउनु भयो ।
“अस्पताल निर्माणका लागि ठेक्का सम्झौता भए पनि आवश्यक जग्गाको व्यवस्थापन नहुँदा कार्य अगाडि बढ्न सकेको थिएन”, उहाँले भन्नुभयो, “जग्गा व्यवस्थापन गरी निर्माण व्यवसायीलाई तोकेता गर्यो, साइड क्लियर भएपछि निर्माण अगाडि बढेको छ ।”
उहाँका अनुसार अस्पताल निर्माणका लागि शारदा माध्यमिक विद्यालयले सात कठ्ठा, सामुदायिक वनले पाँच कठ्ठा गरी १२ कठ्ठा जग्गा उपलब्ध गराएको छ । अस्पतालका लागि दुईवटा भवन, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीका लागि आवासीय भवन निर्माणका लागि योजना निर्माण गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टका अनुसारे दुई वर्षभित्रै निर्माणकार्य सक्ने गरी विसं २०७७ मा ठेक्का सम्झौता भएको थियो । अस्पताल निर्माण भई सञ्चालनमा आएपछि यस क्षेत्रका बासिन्दाले चिकित्सकीय सेवा लिनका लागि महेन्द्रनगर र भारततर्फ जानुपर्ने झन्झट हटेर जाने बताइएको छ । नगरपालिकामा हालसम्म दुईवटा स्वास्थ्यचौकी, दुईवटा चौबीस घण्टे बर्थिङ सेन्टर र १० आधारभूत स्वास्थ्य केन्द्र सञ्चलनमा छन् । रासस