काठमाडौँ । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रंगशालाको स्वामित्व लिएर निर्माण सम्पन्न गर्ने निर्णय गरेको हो ।
धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण सुरु गरेको रंगशाला रकम अभावका कारण भन्दै केही वर्षदेखि अलपत्र छ । कलाकारद्वय सीताराम कट्टेल धुर्मु र कुञ्जना घिमिरे सुन्तलीले रंगशाला निर्माणको क्रममा लागेको १८ करोड रुपैयाँ ऋण तिर्न नसकेको भन्दै हात झिकेका थिए । तत्कालीन केपी ओली सरकारले फाउन्डेसनलाई रंगशाला बनाउन दिन सम्झौता गरेको थियो । रङ्गशालामा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको लगानी छ ।
साथै, धुर्मुस सुन्तली फाउन्डेसनले विदेशबाट नेपालीसँग करोडौँ चन्दा उठाएका थिए । रंगशाला बनाउन रकम कबोल गर्नेले नदिएको भन्दै फाउन्डेसनले हात झिकेको थियो । तर, रङ्गशालामा कति अनियमितता भयो त्यो छानबिन नगरी सरकारले रंगशाला बनाउने निर्णय गरेको छ । यसले सरकारले धुर्मुस सुन्तलीलाई उन्मुक्ति दिएको प्रस्ट छ ।
मन्त्रिपरिषद्को निर्णयसँगै अब गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम अगाडि बढ्ने भएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार अहिले हिसाब फरफारक गर्न सरकारले १२ करोड रुपैयाँ दिने छ । हिसाब भने भरतपुर महानगरपालिकाले फरफारक गरेर निर्माण कार्य अघि बढ्ने छ ।
सरकारको युवा तथा खेलकुद मन्त्रालयले निर्माण सम्पन्न गरेपछि रंगशाला भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्ने छ । तीन हजार दर्शक क्षमता भएको प्याराफिटका लागि दुई सय ८६ वटा पिलर उठाउँदै चौरमा दुबो गाड्ने काम भइरहँदा निर्माण रोकिएको हो ।
चन्दा उठाएर त्यही पैसामा समाजसेवी बन्ने र आर्थिक रुपमा मोटाउने सीताराम र कुञ्जनामा भूत सवार भएको थियो । दुवैले नेपालीले चन्दास्वरुप पठाएको पैसाबाटै सिन्धुपाल्चोक, महोत्तरी र रौतहटमा एकीकृत नमुना बस्ती बनाएका थिए । त्यही बेला सीताराम र कुञ्जलाले कुसुन्तीमा चार करोड बराबरको आलिसान बंगला बनाएका छन् । यस विषयमा अहिलेसम्म कुनै यथार्थ तथ्य बाहिर आउन सकेको छैन ।