जलवायु परियोजनामा सामेल हुने चवालीस देशको चाहना

अन्तरर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले जलवायु परिर्वतनसम्बन्धी आईएमएफको ४० अर्ब अमेरिकी डलरको  रिजिलेन्स एण्ड सस्टेनेबिलिटी ट्रष्ट (आरएसटी)का परियोजनामा सहभागी हुने चाहना विश्वका ४४ देशले गरेका बताउनुभएको छ ।

जलवायु परियोजनामा सामेल हुने चवालीस देशको चाहना

काठमाडौं । अन्तरर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले जलवायु परिर्वतनसम्बन्धी आईएमएफको ४० अर्ब अमेरिकी डलरको  रिजिलेन्स एण्ड सस्टेनेबिलिटी ट्रष्ट (आरएसटी)का परियोजनामा सहभागी हुने चाहना विश्वका ४४ देशले गरेका बताउनुभएको छ । 

एक वर्षअघि स्थापना भएको आरएसटीले कम आय भएका तथा कमजोर मध्यम आय भएका देशलाई आर्थिक सहयोग प्रदान गरी जलवायु परिवर्तनजस्ता प्रणालीगत जोखिम सामना गर्दै दिगो आर्थिक नीति प्रवद्र्धनको लक्ष्य लिएको छ । आरएसटीले मानव सृजित हरितगृह ग्यास उत्सर्जनलाई शून्यमा झार्न निर्धन देशका निम्ति सहयोगको उक्त कोष स्थापना गरेको हो । 

प्रबन्ध निर्देशक जर्जिएभाका अनुसार रुवाण्डा, बार्बाडोस, कोस्टारिका, बङ्गलादेश र जमैकाले कोषबाट सहयोग प्राप्त गर्न सम्झौता गरेका छन् । उदीयमान बजार र अर्थतन्त्रमा निजी लगानीका अवरोध हटाउन मद्दत गर्ने उक्त कोष आफैमा जलवायु सङ्कट समाधान नभए पनि त्यसले केही योगदान गर्ने उहाँले बताउनुभएको छ । 

जलवायु परिवर्तनका कारण उत्पन्न हुने सङ्कट नियन्त्रण गर्न धेरै काम गर्न बाँकी रहेको बताउँदै प्रबन्ध निर्देशक जर्जिएभाले नीति, लगानी र वित्तीय सहायता अत्यावश्यक भएकामा जोड दिनुभयो । उहाँले जलवायु चुनौतीलाई अवसरमा परिणत गर्न बहुपक्षीय संस्था, राष्ट्रिय अधिकारी र निजीक्षेत्रबीच सहकार्य हुनुपर्ने बताउनु भयो । नवीकरणीय ऊर्जाको उपयोग बढाउने तथा जलवायु सङ्कटबारे सर्वसाधारणको चेतना अभिवृद्धि पनि उत्तिकै महत्वपूर्ण भएको उहाँले बताउनु भयो ।  रासस

खबरपाटी
खबरपाटी