न्यूयोर्क । अमेरिकी गोप्य दस्तावेजको चुहावटले वासिङ्गटनले आफ्ना शत्रु र मित्र दुवैमाथि कसरी समानरुपले जासुसी गर्दो रहेछ भन्ने एकपछि अर्को गर्दै खुल्दै गएका छन् । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसमाथि पनि जासुसी गरेको ती गोप्य दस्तावेजले संकेत गरेको बीबीसीले उल्लेख गरेको छ ।
अनलाइनमार्फत चुहावट भएका ती दस्तावेजले महासचिव गुटेरेस रुसप्रति निकै सम्झौतापरक देखिएको विश्वास अमेरिकाले लिएको देखिएको समाचारमा जनाइएको छ । चुहिएका दस्तावेजले वासिङ्गटनले गुटेरेसमाथि नजिकबाट निगरानी गरिरहेको देखाएको छ । थुप्रै दस्तावेजले गुटेरेसले आफ्ना उपमहासचिवसंग गरेका निजी संवादको पनि रेकर्ड राखेको देखिन्छ ।
बाहिरिएका दस्तावेजमध्ये एउटा दस्तावेजमा युक्रेन युद्ध र थुप्रै अफ्रिकी नेताप्रति गुटेरेसले गरेका खरा टिप्पणीहरु पनि रहेको जनाइएको छ । यस्तै एउटा दस्तावेज युक्रेनबाट सहज रुपमा खाद्यान्न निर्यात गर्न दिने सम्बन्धमा रुस र युक्रेनबीच भएको खाद्यन्न सम्झौतामाथि केन्द्रित रहेको पाइएको छ ।
उक्त दस्तावेजले राष्ट्रसंघ र टर्कीको मध्यस्थतामा भएको सम्झौतालाई जोगाइराख्न महासचिव गुटेरेस रुसप्रति निकै लचिलो देखिएको र त्यसका लागि रुसी कम्पनी वा व्यक्तिमाथि लगाइएका प्रतिबन्ध खुकुलो पार्नेसम्मको हदमा जान तयार रहेको संकेत गरेको देखाएको छ ।