देशको समृद्धिका लागि चरित्रवान नेतृत्व आवश्यक हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

सचरित्रवान व्यक्तिलाई राजनीतिमा स्थापित गर्न सकेमात्र प्रणाली र व्यवस्था परिवर्तनको जनताले महशुस गर्न सक्ने बताए

देशको समृद्धिका लागि चरित्रवान नेतृत्व आवश्यक हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक रुपान्तरण र समृद्धिका लागि चरित्रवान नेतृत्वको आवश्यक हुने बताएका छन् ।

प्रर्दशनीमार्गस्थित राष्ट्रियसभागृहमा आज आयोजित धम्मवती गुरुमा विशेष सामूहिक धम्मपूजामा उनले सचरित्रवान व्यक्तिलाई राजनीतिमा स्थापित गर्न सकेमात्र प्रणाली र व्यवस्था परिवर्तनको जनताले महशुस गर्न सक्ने बताए ।

“राजनैतिक प्रणाली र व्यवस्था परिवर्तनले मात्र पुग्दैन । आजको प्रदूषित राजनीतिलाई सफा गर्न जरुरी छ,” उपप्रधानमन्त्री श्रेष्ठले भने , “चरित्रवान, स्वच्छ र निस्वार्थ व्यक्तिलाई राजनीतिमा स्थापित गरेर र राजनीतिलाई सफा गरेर मात्र समाजको रुपान्तरण र समृद्ध नेपाल बनाउन सक्छौँ ।” उनले नेतृत्वको चरित्र निर्माणका लागि बौद्धशिक्षा महत्त्वपूर्ण हुने बताए ।

उनले गृह मन्त्रालयअन्र्तगत ध्यानको शिविर नियमितरुपमा सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए । उनले भिक्षुणी धम्मवती गुरुमाको धार्मिक तथा सामाजिक योगदान प्रशंसनीय भएको बताउँदै भने , “उनको योगदानका आधारमा उहाँ नेपालको अन्तर्राष्ट्रिय धर्मदूत हुनुहुन्छ ।”

धम्मपूजा कार्यक्रममा काठमाडौँ महानगरपालिकाको उपमेयर सुनिता डङ्गोलले धम्मवती गुरुमाको बुद्धधर्मको प्रचारप्रसार र सामाजिक क्षेत्रमा योगदानबारे चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “झण्डै २० वर्षअघि मैले उहाँको शिष्य बन्ने अवसर पाएको थिए । म राजनीतिमा प्रवेश गर्नुको प्रेरणा पनि उहाँ नै हो ।” उपमेयर डङ्गोलले महानगर धर्मकीर्ति विहारको स्थापना र सञ्चालनमा सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।

विक्रम संवत् १९९१ मा ललितपुरमा जन्मीनुभएको भिक्षुणी धम्मवतीको रुपमा बौद्धज्ञान बाड्दै आएको बताए । धम्मवती गुरुमाले नेपालमा बौद्ध शिक्षाबारे सबैलाई जानकार गराउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा धर्मकीर्ति विहार संरक्षण कोषले ‘धम्मवती धम्म प्रशिक्षण परियोजना’को धोषणा गरेको छ ।

खबरपाटी
खबरपाटी