‘युद्ध अन्त्यका लागि रुस–युक्रेन वार्ता आवश्यक’

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले युक्रेनमा जारी युद्धमा सहभागी हुन अस्वीकार गर्दै कीभ र मस्कोबीच ‘वार्ताबाट’ समाधान हुनुपर्ने बताउनुभएको छ ।

‘युद्ध अन्त्यका लागि रुस–युक्रेन वार्ता आवश्यक’

काठमाडौं । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले युक्रेनमा जारी युद्धमा सहभागी हुन अस्वीकार गर्दै कीभ र मस्कोबीच ‘वार्ताबाट’ समाधान हुनुपर्ने बताउनुभएको छ । 

युद्धको लागि कीभ पनि दोषी रहेको र मस्कोमाथि प्रतिबन्ध लगाउन वा कीभलाई गोलाबारुद आपूर्ति गर्न पश्चिमी राष्ट्रहरूसँग सामेल नभएको भन्दै युक्रेन राष्ट्रपति लुलासँग चिढिएका समय उहाँले सम्झौताकर्ताको रूपमा ब्राजिलको भूमिकालाई पुनर्जीवित गर्न खोजिरहनुभएको छ ।

लिस्बनमा पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डी सूसासँगको भेटपछि लुलाले भन्नुभयो, “मेरो सरकारले युक्रेनको क्षेत्रीय अखण्डताको उल्लङ्घनको निन्दा गरेको छ, तर हामी द्वन्द्वको वार्ताद्वारा राजनीतिक समाधानको समर्थन गर्छौं ।”

उहाँले भन्नुभयो, “हामीलाई युक्रेन र रूस दुवैसँग वार्ता गर्न देशहरूको एउटा समूह तत्काल आवश्यक छ ।”

उहाँले थप्नुभयो,“ब्राजिल यो युद्धमा भाग लिन चाहँदैन । ब्राजिल शान्ति स्थापना गर्न चाहन्छ ।”

पोर्चुगलका राष्ट्रपतिले लुलासँगको भेटमा भएको वार्तामा युक्रेन सन्दर्भलाई जोड्दै भन्नुभयो, “राष्ट्रपति लुलाले न्यायपूर्ण र दिगो शान्तिको मार्ग भनेको वार्तालाई प्राथमिकता दिनु हो भन्नेमा विश्वस्त रहेको देखियो ।”

उहाँले भन्नुभयो, “यस सम्बनधमा पोर्चुगलको स्थिति भने फरक छ । शान्तिको बाटो एक सम्भावना हो तर युक्रेनलाई पहिले आक्रमणको जवाफ दिने अधिकार हुनुपर्दछ ।” 

यसअघि सन् २००३ देखि २०१० सम्म ब्राजिलको राष्ट्रपतिको जिम्मेवारी सम्हालेका ७७ वर्षीय लुलाले गत फेब्रुअरीमा वासिङ्टनमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गर्नुभएको थियो । उहाँले अप्रिल महिनाको शुरूमा चिनियाँ राष्ट्रपति सी जिन पिङसँग पनि युक्रेनसम्बनधमा छलफल गर्नुभएको थियो ।

बेइजिङमा उहाँले वासिङ्टनले किभलाई हतियार आपूर्ति गरेर युद्धलाई ‘प्रोत्साहन’ गर्न बन्द गर्नुपर्ने र संयुक्त राज्य अमेरिका र युरोपेली संघले ‘शान्तिका बारेमा कुरा गर्न थाल्नुपर्छ’ भनेपछि ती मुलुकले उहाँको आलोचना गरेका थिए ।

“यदि तपाईं शान्तिको कुरा गर्नुहुन्न भने, तपाईं युद्धमा योगदान दिएको ठहर हुन्छ,” उहाँले शनिबार पोचुगल भ्रमणका क्रममा सञ्चारमाध्यमसँगको कुराकानीमा भन्नुभयो । रासस

खबरपाटी
खबरपाटी