काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ९ महिना अर्थात २०७९ साल चैत्त मसान्तसम्म समग्र वैदेशिक व्यापारमा गिरावट आएको छ । वैदेशिक व्यापार गत आर्थिक वर्षको सोही समय भन्दा चालु आ व को चैत्त मसान्तसम्म १८ दशमलव ८९ प्रतिशतले घटेको छ ।
आयात १८ दशमलव ०८ प्रतिशतले घट्दा कुल व्यापार घाटा पनि १८ दशमलव ८९ प्रतिशतले ओरालो लागेको छ ।
अर्थतन्त्रमा व्यापार घाटा घट्नु राम्रो संकेत रहेता पनि नेपालको लागि निर्यात समेत घटेर व्यापार घाटा घट्नु राम्रो संकेतका रुपमा भने लिइएको छैन् । लयमा रहेको निर्यात चैत्त मसान्तसम्म २६ दशमलव ३४ प्रतिशतले घटेको छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको ९ महिनामा नेपालले १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख रुपैयाँ बराबरको वस्तु आयात गरेकोमा उक्त आयात चालु आर्थिक वर्षको चैत्त मसान्तसम्म १८ दशमलव ०८ प्रतिशतले घटेर १२ खर्ब १ अर्ब ५० करोड ८९ लाखमा खुम्चिएको छ ।
लयमा रहेको निर्यातमा पनि कमी आएको छ । गत वर्षको ९ महिनामा १ खर्ब ६० अर्ब ५७ करोड २९ लाख रुपैयाँको निर्यात भएकोमा चालु आर्थिक वर्षको ९ महिनामा २६ दशमलव ३४ प्रतिशतले घटेर उक्त रकम १ खर्ब १८ अर्ब २७ करोड ९९ लाख रुपैयाँमा सिमित भएको छ ।
आयात निर्यातको अनुपातमा ९ महिनामा नेपालको व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड ९० लाखमा सिमित भएको छ ।