सन् २०२२ मा पच्चीस करोड असी लाख व्यक्तिद्वारा खाद्यान्न सहायताका लागि मागः संयुक्त राष्ट्रसङ्घ

द्वन्द्व, आर्थिक सङ्कट र जलवायु विपत्तिका कारण गत वर्ष करिब २५ करोड ८० लाख मानिसलाई आपतकालीन खाद्य सहायताको आवश्यकता परेको संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनमा उल्लेख छ ।

सन् २०२२ मा पच्चीस करोड असी लाख व्यक्तिद्वारा खाद्यान्न सहायताका लागि मागः संयुक्त राष्ट्रसङ्घ

काठमाडौं । द्वन्द्व, आर्थिक सङ्कट र जलवायु विपत्तिका कारण गत वर्ष करिब २५ करोड ८० लाख मानिसलाई आपतकालीन खाद्य सहायताको आवश्यकता परेको संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनमा उल्लेख छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले भन्नुभयो, “एक अर्बभन्दा बढी मानिस अहिले भोकमरीको चरम स्तरको सामना गरिरहेका छन्, र केही भोकमरीको सङ्घारमा छन् । यो अकल्पनीय छ ।”

उहाँले भन्नुभयो, “भोकमरीको अन्त्य गर्न, खाद्य सुरक्षा हासिल गर्न र सबैका लागि उन्नत पोषण प्राप्त गर्न मानवजातिले नसकेको यो तीतो याथार्थ हो ।”

सन् २०२२ मा ५८ देश वा क्षेत्रमा २५ करोड ८० लाख मानिसले उच्च स्तरको खाद्य असुरक्षाको सामना गर्नुपरेको प्रतिवेदनमा उल्लेख छ ।

तीमध्ये ४० प्रतिशतभन्दा बढी द्वन्द्वग्रस्त प्रजातान्त्रिक गणतन्त्र कङ्गो, इथियोपिया, अफगानिस्तान, नाइजेरिया र यमनमा बसोबास गर्दै आएका छन् ।

खाद्य सहायताको अति आवश्यकता भएका मानिसहरूको यो समग्र आँकडा अहिले लगातार चौथो वर्ष बढेको छ ।

प्रतिवेदनले उनीहरूलाई ‘सङ्कट’, ‘आपतकाल’ वा ‘विपत्ति’ को स्थितिमा वर्गीकृत गरेको छ ।

यो पछिल्लो श्रेणीमा गत वर्ष तीन लाख ७६ हजार मानिस भोकमरीको चपेटामा परेका थिए ।

तीमध्ये आधाभन्दा बढी सोमालियामा बस्थे, जुन देशले जलवायु परिवर्तनसँग जोडिएको विनाशकारी खडेरीको सामना गरिरहेको छ ।

जलवायुविद्हरूको एक अन्तर्राष्ट्रिय समूह ‘वल्र्ड वेदर एट्रिब्यूसन ९डब्लुडब्लुए०’ ले गत महिना मानवका कारण निम्तिएको जलवायु परिवर्तनका कारण सोमाली प्रायद्वीपमा कृषिजन्य वस्तुको अभाव ‘लगभग १०० गुणा बढी’ हुने सम्भावना बनाएको बताएको थियो ।

प्रतिवेदनमा समावेश गरिएका ५८ मुलुकमध्ये पाँच वर्षमुनिका तीन करोड ५० लाखभन्दा बढी बालबालिका कुपोषित र खतरनाक रूपमा दुब्लो भएको उल्लेख छ ।

भोकमरी र कुपोषणविरुद्ध लड्नका लागि आवश्यक पर्ने मानवीय सहायता आवश्यकताको तुलनामा फितलो भएको गुर्टेसले बताउनुभयो । 

गत वर्ष खाद्य सङ्कट ‘द्वन्द्व र असुरक्षा, आर्थिक झट्का र मौसमको चरम सीमा’ का कारण भएको प्रतिवेदनमा उल्लेख छ । 

सन् २०२२ का यी प्रमुख चालकहरू कोभिड–१९ को लामो सामाजिक आर्थिक प्रभाव, युक्रेनमा युद्धको प्रभाव र बारम्बार खडेरी र अन्य मौसमी चरमसीमासँग सम्बन्धित थिए ।

गत वर्ष फेब्रुअरीमा युक्रेनमा रूसी आक्रमणको प्रभाव युक्रेन र रूसले ‘ईन्धन, मल र गहुँ, मकै र सूर्यमुखी तेल जस्ता आवश्यक खाद्य वस्तुहरूको उत्पादन र व्यापारमा’ गरेको प्रमुख योगदानको कारण रहेको थियो ।

गत वर्षको जुलाईमा संयुक्त राष्ट्रसङ्घ र टर्कीले युक्रेनको खाद्यान्न निर्यातलाई सहज बनाउन ऐतिहासिक सम्झौता गरेका थिए ।

तर सन् २०२२ को अन्त्यसम्ममा विश्वव्यापी खाद्य वस्तुको मूल्यमा गिरावट आए पनि महामारीअघिको स्तरभन्दा माथि नै रहेको प्रतिवेदनमा उल्लेख छ ।

संयुक्त राष्ट्रसङ्घका अधिकारी तथा गैरसरकारी संस्थाले गत महिना जलवायु परिवर्तन, द्वन्द्वका कारण कृषि उत्पादनमा भएको कमी हुँदा भएको खाद्यान्न अभावजस्ता कारणबाट अफ्रिकामा मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको चेतावनी दिएका थिए ।

इथियोपिया, केन्या र सोमालियामा हरेक ३६ सेकेन्डमा एक जनाको भोकमरीका कारण मृत्यु हुने गरेको संयुक्त राष्ट्रसङ्घीय बाल सङ्गठन युनिसेफ र गैरसरकारी संस्था केयर एण्ड अक्सफामले जनाएको छ ।  रासस

खबरपाटी
खबरपाटी