राष्ट्रपति पुटिनलाई लक्षित गरी ड्रोन आक्रमण प्रयास, जवाफी कारबाही हुन्छः रूस

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्रेमलिनस्थित निवासमा युक्रेनले रातभर गरेको ‘ड्रोन आक्रमण’ लाई ‘आतङ्कवादी हमला’ को संज्ञा दिँदै रूसले आफूले चाहेको तरिका, स्थान र समयमा प्रतिकार गर्ने अधिकार आफूसँग रहेको बताएको छ ।

राष्ट्रपति पुटिनलाई लक्षित गरी ड्रोन आक्रमण प्रयास, जवाफी कारबाही हुन्छः रूस

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्रेमलिनस्थित निवासमा युक्रेनले रातभर गरेको ‘ड्रोन आक्रमण’ लाई ‘आतङ्कवादी हमला’ को संज्ञा दिँदै रूसले आफूले चाहेको तरिका, स्थान र समयमा प्रतिकार गर्ने अधिकार आफूसँग रहेको बताएको छ ।

रूसले युक्रेनले राष्ट्रपति पुटिनको हत्या गर्ने प्रयास गरेको आरोप लगाउँदै यो ‘आतङ्कवादी हमला’ भएको दाबी गरेको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भन्नुभयो, “मङ्गलबार राति युक्रेनी मानवरहित ‘वायु यान’  आक्रमणको समयमा राष्ट्रप्रमुख क्रेमलिनमा रहनुभएको थिएन र उहाँ अहिले मस्को नजिकैको आफ्नो निवासमा काम गरिरहनुभएको र आफ्नो कार्यतालिकामा कुनै परिवर्तन नभएको पनि जानकारी गराइन्छ ।” 

पुटिनका कर्मचारीका अनुसार युक्रेनले क्रेमलिनस्थित उहाँको अपार्टमेन्टमा आक्रमण गर्ने उद्देश्यले रातारात दुईवटा ड्रोन आक्रमण गरेको थियो ।

ड्रोनहरू विद्युतीय युद्धका उपायहरू प्रयोग गरेर नष्ट गरिएको र कुनै हताहत वा क्षति नभएको उहाँले बताउनुभयो । 

रसिया टुडेको एक रिपोर्टका अनुसार सन्देशमा भनिएको छ, “यस आतङ्कवादी कार्यको परिणामस्वरुप रूसी महासङ्घका राष्ट्रपतिलाई कुनै चोट पटक लागेको छैन । उहाँको कार्यतालिका परिवर्तन भएको छैन, यो सधैंजस्तै जारी छ ।”
 
रसिया टुडेका अनुसार क्रेमलिनले रूसी पक्षलाई आफूले उपयुक्त ठानेको प्रतिशोधात्मक कदम चाल्ने अधिकार सुरक्षित रहेको पनि उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “हामी यसलाई पूर्वनियोजित आतङ्कवादी गतिविधि र रूसी राष्ट्रपतिविरुद्धको प्रयास ठान्छौं, यो घटना विदेशी पाहुनाहरू उपस्थित हुने योजना बनाइरहेको समय ‘विजय दिवस र मे ९’ को परेडको पूर्वसन्ध्यामा भएको छ । उचित समयमा उचित प्रतिरोधात्मक कदम चालिनेछ ।” रासस

खबरपाटी
खबरपाटी