ल आउनुहोस्.. शब्द र तस्बिरमा घुमौँ च्छो रोल्पा

आफू घुम्ने र सबैलाई घुमाउने रहरले जुराएको च्छो रोल्पा ट्रेकिङको एउटा यादगार अनुभव, च्छो रोल्पा ट्रेकिङमा जाने बाटो कुन हो ? कसरी जाने ? खर्च कति बोक्ने रु लुगा कस्तो लगाउने ? बाटोमा खाना बस्नको सुविधा ? लगायतको अनुभव विस्तृतमा लेखिएको छ ।

ल आउनुहोस्.. शब्द र तस्बिरमा घुमौँ च्छो रोल्पा

आस्था शर्मा/काठमाडौँ । काठमाडौँबाट करिब २०० किलो मिटरको दुरीमा रहेको छ छेद छेद गाउँ । जिल्ला दोलखाको अन्तिम गाउँ लामा बगरको सुरुवातमा रहेको छ छेद छेद । अपर तामाकोसी तिरमा रहेको उक्त गाउँ अत्यन्तै सुन्दर एवं रमणीय छ । चारै तिर हरियाली कञ्चन तामाकोसी कलकल आवाज र मनमोहक दृश्य । दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट ४५ किलोमिटरको दुरीमा रहेको छेद छेद गाउँ प्रसिद्ध रोल्वालिङ भ्यालीको प्रवेशद्वार मानिन्छ । 

गौरीशङ्कर संरक्षण क्षेत्रमा रहेको उक्त गाउँ समुन्द्र सतहदेखि १४०० मिटरको उचाइमा रहेको छ । छेद छेद गाउँबाट प्रसिद्ध च्छो रोल्पा हिमताल, दूध पोखरी ताल, लाप्से पास हुँदै नाम्चे यात्राको पदमार्गको सुरुवात हुन्छ । 

आज हामी गौरीशङ्कर संरक्षण क्षेत्रमा पर्ने च्छो रोल्पा हिमतालको पदमार्ग बारे चर्चा गर्दै छौँ । सिंगटी बजारदेखि चीनको सीमासम्मै गौरीशङ्कर संरक्षण क्षेत्र पर्छ । नेपाल सरकारले जलवायु परिवर्तनबारे विश्वको ध्यान तान्न सगरमाथा आधार शिविर काला पत्थरमा मन्त्रीपरिषद् बैठक आयोजना गरेको थियो । सोही बैठकले सिन्धुपाल्चोक, दोलखा र रामेछापका हिमाली क्षेत्रमा पर्ने भूभाग समेटेर गौरीशङ्कर संरक्षण क्षेत्र घोषणा गरेको थियो । 

सिंगटी बजार सक्के लगत्तै नेपालको ग्रामीण भेगको बास्ना आउन थाल्छ । सिंगटी बजार हुँदै छेदछेसम्मको यात्रा गाडी, मोटरसाइकल अथवा अन्य साधनबाट गर्न सकिन्छ । ट्रेकिङ गर्नका लागि छेद छेदसम्मको सवारी यात्रा रहेको छ । सार्वजनिक सवारी भने दिनको एक पटक मात्र आउने जाने गर्ने रहेछ । चरिकोटबाट लामा बगरका लागि बस बिहान छुट्दो रहेछ भने बेलुका लामा बगरबाट चरिकोटको लागि छुट्दो रहेछ । 

काठमाडौँबाट २०० किलोमिटर यात्रा तय गरेपछि हामी छेद छेद गाउँ पुगेका थियौँ । बेलुकाको ८ बजी सकेको थियो । हामीले ३ वटा मोटरसाइकल उक्त गाउँको एक घरमा एक हजार रुपैयाँ तिरेर पार्किङको लागि राख्यौँ । उक्त ठाउँमा बस्ने राम्रो व्यवस्था नरहेको औँल्याउँदै उक्त घरधनीले हामीलाई सिमिगाउँ जान सुझाए । हाम्रो टोली ठुलो नै भएको कारण सोही दिन २ घण्टाको यात्रा गरेर हामी सिमिगाउँ चढ्ने निर्णय गार्‍यौँ । 

सिमिगाउँ समुन्द्र सतहदेखि २ हजार मिटरको उचाइमा रहेको थियो । साइन बोर्डले २ दशमलव ५ किलोमिटरको दुरी र २ घण्टा ४५ समय लाग्ने देखाएको थियो । सोझै हिनेको भए सायद हामी समय अगावै पुग्ने थियौँ तर रातीको समय र केही बचपनाको कारण हामी बाटो बिराउन पुग्यौँ । साढे २ घण्टाको बाटो हामीलाई करिब ५ घण्टा लाग्यो र रातीको २ बजे सिमिगाउँको एक होटेलको ढोका ढकढकाउन पुग्यौँ । 

होटेलको साहुनी अत्यन्तै शान्त स्वभावको हुनुहुन्थ्यो । हाम्रो हालत देखेर रातीको २ बजे तुरुन्तै खाना र बस्नको व्यवस्था गरिदिनु भयो । भोगको झोकमा खाएको खाना सह्यौ मिठो थियो । एक कोठामा २ व्यक्ति सुत्न मिल्थ्यो भने एउटा कोठाको भाडा ३ सय रुपैयाँ तोकिएको थियो भने सादा खानाको दर प्रतिव्यक्ति २५० रुपैयाँ रहेको थियो । 

दोस्रो दिन

हाम्रो दोस्रो दिनको यात्रा अलिक लामो नै रहन गयो । पुग्ने हतारो र साथी भाइको जोस जागरका कारण एकै दिन हामीले सिमिगाउँबाट बेदिङसम्मको यात्रा तय गर्‍यौँ । २ हजार मिटरमा रहेको सिमिगाउँबाट ३७८० मिटरको एलिभेसन्मा रहेको बेदिङ गाउँसम्म हामी पुग्यौँ । उक्त दिन हामी करिब २५ किलोमिटर हिन्यौँ । बाटोमा दृश्यहरू त अत्यन्तै रमणीय थिए तर बाटोमा उकालो बाहेक केही पनि थिएन । जति हिँडेँ पनि फेरी फेरी नयाँ ठाडो उकालो मात्र देखिन्थ्यो । बिहान करिब ८ बजे २ सय रुपैयाँ पर्ने रोटी र झोल तरकारी खाएर हामी हाम्रो गन्तव्यतर्फ उक्ल्यौँ । 

उकालो नै उकालोले भरिएको उक्त यात्राको २ घण्टामा हामी उत्तिसे भन्ने गाउँमा पुग्यौँ । उक्त ठाउँमा एउटा मात्र घर थियो सायद खाने व्यवस्था थियो होला तर बस्ने व्यवस्था भने थिएन । त्यसपछि ४ किलोमिटरको उकालो पश्चात् हामी सुमुर्चे गाउँ पुग्छौँ २४८० मिटरको एलिभेसनमा रहेको सुमुर्चे गाउँमा भने खाना र बस्नको राम्रो व्यवस्था गरिएको थियो । उक्त गाउँ उत्तिसेबाट डेढ घण्टाको दुरीमा रहेको थियो । हरियो वन सेतो, रातो र गुलाबी गुराँसले ढाकिएको सुमुर्चे पुगे पछि ट्रेकिङ मै आएको अनुभूति हुन थाल्यो । ठुला ठुला झरना, सहर र बस्ती भन्दा टाढा पुगेको अनुभूति यस ठाउँबाट हुन थाल्छ । त्यसपछि सुमुर्चेको झरनामा नुहाएर हामी आधि घण्टाको दुरीमा रहेको काल्चे भन्ने स्थानमा खाना खानका लागि पुग्यौँ । 

काल्चे २७४० मिटरको हाइटमा रहेको छ भने उक्त ठाउँमा क्याम्पिङको लागि प्रशस्त ठाउँ भएता पनि होटेल भने एउटा मात्र रहेको छ । यस ठाउँबाट मासु विक्री वितरण गर्न नपाइने नियम रहेछ । काल्चेमा ६० रुपैयाँ पर्ने दूधको चियाको चुस्की लगाउँदै हामी खानाको पर्खाइमा बस्यौँ । २५ मिनेट पछि खाना पाक्यो दाल भात र आलुको तरकारीको भात उक्त समय अत्यन्तै स्वादका साथ खाइयो । 

काठमाडौँमा भएको भए कस्तो खल्लो खाना बनाएको भनेर धुर्की लगाइन्थ्यो । तर त्यो उकालोको थकानले त्यो सादा खाना पनि स्वादका साथ खाइयो । त्यस खान प्रति प्लेट ३५० रुपैयाँका दरले हामी खाइरहेका थियौँ । 

खाना खाएपछि हामीले रोल्वालिङ भ्यालीको मोहक पाउन थाल्यौँ । ४५ मिनेटको हिँडाइ पछि हामी डेङवाङ गाउँ पुग्यौँ । डेङवाङ गाउँ रोल्वालिङ भ्यालीको प्रवेशद्वारका रूपमा परिचित ठाउँ रहेछ । २७८० मिटरको एलिभेसनमा रहेको उक्त गाउँमा मोहक दृश्यसँगै खान बस्नको अत्यन्तै राम्रो व्यवस्था गरिएको थियो । ठुला लाग्ने होटलहरु यस ठाउँमा स्थापित रहेका थिए । त्यस ठाउँबाट उसिनेको आलु र पिँडालु लिएर हामी फेरी हाम्रो गन्तव्यतर्फ अगाडी बढ्यौँ । यस ठाउँबाट केही पनि खाने कुराहरू पोल्न मनाही गरिएको छ । लसुनसम्म पनि पोल्न मनाही गरिएको उक्त क्षेत्रमा धार्मिक मान्यता व्याप्त रहेको देखिन्छ । 

रोल्वालिङ प्रवेशसँगै गौरीशङ्कर संरक्षण क्षेत्रको आभास महसुस हुन्छ । चरा चुरुङी र लङ्गुर बाँदरहरू धेरै देखिन्छन् । म एक्लै हिँडिरहेको बेला बाँदर को झुन्डले केही बेर रोकाउँछ र हाम्रा सबै साथीहरूको जमात भेटिएर हामी फेरी दृश्य अवलोकन गर्दै अगाडी बढ्छौ ।

डोङवाङबाट एक घण्टा हिनिसकेपछि यस ट्रेकिङकै सबैभन्दा ठाडो उकालो सुरु हुन्छ । ठाङदिङको उकालो । करिब १ घण्टाको ठाडो उकालो चढेपछि स्या स्या र फ्याँ फ्याँ गर्दै हामी ठाङदिङखर्क भन्ने ठाउँमा पुग्छौँ । हातको घडीले करिब करिब ६ बजाएको थियो । दिनभरको उकालो हिँडाईले हामी निकै थकित भइसकेका थियौँ । भोलि पल्ट नयाँ वर्ष रहेको थियो । साथीहरूले आजको बाँस त्यही बस्ने मनसाय भएता पनि उक्त दिन बेदिङसम्म बस्ने अठोट लिएर हामी अगाडि बढेका थियौँ । वर्षको अन्तिम दिन दुख मा नै सुख भेटिन्छ भनेर हामी सोही दिन बोदिङतर्फ लाग्यौँ । 

३३३० मिटरको उचाइमा रहेको ठाङदिङखर्कमा दुई वटा मात्र होटेल रहेको थियो । बस्ने ठाउँ खाली नै थियो तर तातो कफीको चुस्कीसँगै हामी फेरी बेदिङतर्फको यात्रामा लम्कियौँ । २० मिनेट उकालो लागेपछि झमक्कै रात पर्‍यो । बेदिङ यहाँबाट साँढे ५ किलोमिटरको दूरीमा थियो । बाटोको छेउमा रहेको बोर्डका अनुसार बेदिङ ठाङदिङबाट ४ सय मिटर अग्लो ठाउँमा थियो । अब २ घण्टा हिँडेपछि त्यहाँ पुग्न सकिन्थ्यो । तर रातीको समयमा हामीलाई चार घण्टा लाग्यो । 

बाटोमा भेटिएका एक सहयोगी भाइ प्रकाश भाइ उर्फ कान्छाले हामीलाई बेदिङमा होटेल खोज्दिएर राख्ने विश्वास दिलाए र रातीको समयमा हामी उनले भनेका बाटो अनुमान गर्दै अधि बढ्यौँ । करिब १ घण्टाको उकालोपछि समथर बाटोको सुरुवात हुँदो रहेछ । 

एक छिनमा एउटा मन्दिर आउँछ । मन्दिर छेवैको पुल तरेपछि डाल्डोङ हिमाल पुगिने रहेछ । यहीँबाट टासिनाम पनि पुगिने रहेछ । बेदिङ पुग्नलाई भने उक्त रोल्वालिङ खोलाको पुल तर्नुपर्ने रहेनछ । हामी फेरी अगाडी बढ्यौ र रातीको १० बजे हामी प्रकाश भाइले सुझाएको बेदिङको होटेलमा बाँस बस्नका लागि आइपुग्यौँ । उक्त दिन खाना खाएर हामी निदाइहाल्यौँ ।  

बेदिङ ठुलो गाउँ रहेछ । घर र होटहरु अन्य ठाउँको तुलनामा धेरै नै थिए । व्यवसायी दृष्टिकोणले बनाइएको उक्त होटलहरुमा शेर्पा समुदायको जीवनयापन देख्न सकिन्छ । बेदिङमा एक कोठाको भाडा एक हजार रुपैयाँ तोकिएको थियो भने खाना प्रति प्लेट ४०० रुपैयाँमा समेटिएको थियो । 

तेस्रो दिन

बेदिङको होटेलबाट बिदा भएर नयाँ वर्षको सुरुवातसँगै हामी ना गाउँको यात्रामा अगाडी बढ्यौ । बेदिङबाट ना गाउँको दुरी ४ दशमलव ५ किलोमिटर लेखिएको छ । र समय जम्मा २ घण्टा तर नयाँ वर्षको नयाँ अनुभव र नयाँपनमा रमाउँदै उक्त बाटो हामीले करिब ५ घण्टा लगायौँ । ना गाउँ ४१८० मिटरको उचाइमा रहेको छ । ना गाउँ नै यस ट्रेकिङका लागि अन्तिम गाउँ हो । यस पछि हिमालहरु सुरु हुन्छन् । शेर्पा भाषामा ना भनेको भ्याली रहेछ । ना गाउँ नाम जस्तै वरपर सेताम्मे हिमालले ढाकेको उत्सकृत भ्याली नै रहेछ ।

हिमाल नै हिमालको बिचमा अवस्थित यस गाउँको सुन्दरता कुनै शब्दमा बयान गर्न नसकिने रहेछ । यसको सुन्दरता महसुस मात्र गर्न सकिन्छ । नयाँ वर्षका दिन ना गाउँ पुगेको हामी । उक्त दिन सोही गाउँमा नयाँ वर्ष मनाउने निर्णय गर्‍यौँ । शेर्पा दाजुहरूको हिमाल आरोहणको कथा सुन्दै हामीले हाम्रो नयाँ वर्ष ना गाउँमा मनायौँ । ना पुग्दा दिउँसो भइसकेको थियो ।

च्छो रोल्पा ताल नजिकै थियो । तर बादल र हुस्सुका कारण त्यस दिन हामी ना गाउँ मै बसेर नयाँ वर्षलाई स्वागत गरियो । ना गाउँ भने अन्य ठाउँ भन्दा केही महँगो थियो । थर्मसमा पानी भरेको तीन सय रुपैयाँ पर्थ्यो भने एक पटक मोबाइल चार्ज गरेको दर २५० रुपैयाँ तोकिएको थियो । एक कोठामा एक रात सुतेको दर एक हजार रुपैयाँ तोकिएको थियो भने खानाको दर ६५० रुपैयाँ पर्थ्यो । हाम्रो नयाँ वर्ष ना गाउँमा निकै हर्ष उल्लासका साथ बित्यो । 

चौथो दिन

नयाँ जोस, जाँगर, हर्ष र उमङ्ग बोकेर हामी ना गाउँबाट च्छो रोल्पा तर्फ उक्लियौँ । बाटो उकालो पातलो सिरेटो बतासले टाउको सेकाइरहेको थियो र बाटोमा सेताम्मे हिउँहरू थिए । म तराईमा हुर्किएको भएर पनि होला हिउँ देख् ना साथ म एक छिन अडिन्थे र दृश्य अवलोकन गर्दथीए । थकित शरीर र ४ हजार मिटर माथिको उचाइमा हिन्न केही कठिनाइ भने हामी सबैलाई कतै न कतै भइरहेकै थियो । वरपर केही हरियो वस्तु थिएन । कुनै रुख बिरुवा नै थिएन । लेक लाग्ने समस्या पनि सामान्य रहेछ । तर पनि हामी हाम्रो गन्तव्यतिर निरन्तर अगाडी बढिरह्यौ । र करिब बिहानको ९ बजे हामीले एक दृश्य देख्यौ । जुन कुनै शब्दमा बयान गर्न सकिँदैन । ४ दिन देखि हिँडेको उकालो सबै बिर्सियौँ । त्यो दृश्य थियो च्छो रोल्पा हिमतालको । हिउँले भरिएको र हिमालले घेरिएको च्छो रोल्पा हिमताल । निकै सुन्दर र मनमोहक दृश्यको अनुभूति हामीले गर्न पायौँ । 

निकै समय हिमतालको अवलोकन गरेर हामीले फर्कने निधो गर्‍यौँ । हामीले ना गाउँको सोही होटेलमा खाना तयार गर्न लगाएर हिनेका थियौँ । करिब १२ बजे हामी पुन ना गाउँको होटेलमा पुग्यौँ । खाना खाएर उक्त होटेलबाट हामीले फर्कने निर्णय गर्‍यौँ र हाम्रो टोलीले बाटो पछ्याउँदै जुन बाटो आएका थियौँ त्यही बाटो ओरालो लाग्न थाल्यौँ । त्यस दिन हामी काल्चेसम्म आउन सक्यौँ । र त्यस रातको बाँस काल्चे मै बित्यो । उक्लँदाखेरि सोही ठाउँमा खाना खाएर उक्लिएका थियौँ । एक कोठाको ४०० रुपैयाँ थियो भने खानाको ३५० रुपैयाँ रहेको थियो । 
पाँचौँ दिन

ट्रेकिङको अन्तिम दिन झनै अद्भुत पूर्ण रह्यो । काल्चेबाट चियाको चुस्कीसँगै सुरु भएको यात्रा रातीको २ बजे काठमाडौँ आएर सकिएको थियो । बिहान काल्चेबाट हीने लगत्तै हामी हाम्रो अर्को ट्रेकिङको योजना बनाउँदै ओर्लियौँ । सुर्मुचे गाउँमा २०० रुपैयाँ पर्ने तातो शेर्पा थुक्पा खाएर हामी फेरी ओर्लन थाल्यौँ । 

ओरालो लाग्दै गर्दा हामीले नेदरल्याण्डबाट द ग्रेट हिमालयन ट्रायलको पदयात्रा गरिरहेको एकजना विदेशी पर्यटक भेट्यौ । ६१ वर्षिय महिला पर्यटकले १२० दिनमा पूर्वको ताप्लेजुङबाट पश्चिमको हुम्लासम्मको पदयात्रामा आएकी रहेछन् । उनीसँग बसेर हामीले निकै बेर कुरा कानी गर्याैँ । त्यस कुराकानी सम्बन्धी एक रोचक कथा अर्को भागमा अवश्य प्रस्तुत गर्ने छौँ । 

सुर्मुचे गाउँबाट ओरालो लागे लगत्तै बाटोमा लालीगुराँस, अइसोलु र रातो काफलले भरिएको जङ्गलको बाटो पुग्यौँ र निकै बेर त्यही अल्झियौँ । जगंलको काफलको स्वाद अझै पनि मुखमा ताजा रहेको छ । बजारमा किनेको भन्दा भिन्न स्वादको थियो आफैले टिपेर खाएको त्यो काफल । साथीहरूको साथ मनमोहक दृश्य र मिठो काफलले हामीलाई निकै बेर अलमलायो । तर पुग्नु पर्ने गन्तव्य धेरै टाढा रहेको कारण हामीलाई हिन्नै पर्‍थ्यो र हामी गन्तव्य तर्फ फेरी अघि बढ्यौ र दिउँसो ३ बजे हामी हाम्रो मोटरसाइकल राखेको स्थान छेद छेद गाउँ आइपुग्यौँ । हामी सबै खुसी साटासाट गर्न लाग्यौँ । एक छिन आराम गार्‍यौँ र मोटरसाइकल स्टार्ट गरेर चरिकोटतर्फ अगाडी बढ्यौँ । चरिकोट आइपुग्दै गर्दा बाटोमा दोलखा भीमसेनको दर्शन समेत गर्ने मौका पायौँ । र यसरी रमाउँदै हाँस्दै खेल्दै रातीको २ बजे हामी सबै सकुशल हाम्रो घर प्रवेश गर्‍यौँ । 

यसरी हामीले पाचँदिनमा च्छो रोल्पा पुगेर काठमाडौँ फर्किन सफल भयौँ । यात्रा गर्दा यात्रा कठिन थियो तर अहिलेको स्मरणमा मनमोहक दृश्य र त्यहाँ भएका रमाइला घट्नाहरु मात्र याद हुने रहेछन् । यसरी हामीले एक जना बराबर ८ हजारको धनराशि खर्चगरि काठमाडौँबाट च्छो रोल्पा पुगेर एउटा अविस्मरणीय याद बोकेर घर फर्कियौँ । पदयात्राको तयारी गरिराख्नु भएको छ भने जिन्दगीमा एक पटक हर्नै पर्ने ठाउँ च्छो रोल्पा अवश्य पुग्नु होला । 

खबरपाटी
खबरपाटी