काठमाडौं । सिटी होटलले सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुलाएको छ। कम्पनीले पहिलो चरणमा २१ चैतबाट वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन खुलाएपछि आज सर्वसाधारणका लागि खुलाएको हो ।
कम्पनीले जारी पुँजी १ अर्ब ६७ करोड ४० लाखको १० प्रतिशत अर्थात् १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गरेको हो। कुल निष्कासनमध्ये १ लाख ६७ हजार ४ सय कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, ६६ हजार ९६० कित्ता कर्मचारी र ८३ हजार ७ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।
बाँकी रहेको १३ लाख ५५ हजार ९ सय ४० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्ने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। सर्वसाधारणका लागि छुट्याइएको सेयर १ लाख ३५ हजार ५९४ जनाले १०–१० कित्ताका दरले पाउनेछन्। कम्पनीले सोल्टीमोड काठमाडौंमा पाँचतारे होटल ह्यात प्यालेस सञ्चालन गरिरहेको छ।
आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। २८ वैशाखसम्म इच्छुकले आवेदन दिन सक्ने आईपीओमा सेयर बिक्री नभए ८ जेठसम्मको समय रहने कम्पनीले बताएको छ।