काठमाडौं । बुधबार राति आफ्नै निवासमा ग्यास विष्फोटबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद डा. चन्द्र भण्डारीको दुवै खुट्टाको अपरेसन सफल भएको छ । बिहीबार काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालको रिफरमा भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा भर्ना गरिएका भण्डारीको दुवै खुट्टाको सर्जरी सफल भएको हो ।
डा.भण्डारीसँगै उपचार समन्वयको लागि मुम्बईमा रहेका नेता योजराज कँडेलले दिएको जानकारी अनुसार दुईवटै खुट्टाको सर्जरी गरिएका उनको अवस्था सामान्य रहेको छ । भण्डारीको उपचारमा संलग्न मुख्य सर्जन डा. सुनिल केसवानीले उनको दायाँ खुट्टामा गहिरो चोट लागेको कारण सर्जरीमा धेरै समय खर्चिनु परेको जानकारी दिएको नेता कँडेलले बताएका छन् ।
भण्डारीको अर्को सर्जरी कहिले गर्ने भन्ने बारेमा चाहीँ अव्जरभेशनपछि मात्र निर्णय गर्ने तयारी डाक्टरहरुको रहेको छ । हाल भण्डारीलाई एन्टिबायोटिक्स निरन्तर दिइरहेको बताइएको छ ।