राष्ट्रपतिमा रामचन्द्र पौडेलको पक्कापक्कि

आठ दलीय बैठकका सहमतिबारे शनिबार बिहान ८ बजे ‍औपचारिक रुपमा जानकारी गराइने

राष्ट्रपतिमा रामचन्द्र पौडेलको पक्कापक्कि

काठमाडौं । संसदको सबभन्दा ठूलो दल भएर पनि प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले राष्ट्रपतिमा ‘राजनीतिक बाजी’ मारेको छ ।

राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवारले सरकारको नेतृत्व गरेको माओवादी केन्द्रसहित ८ दलको समर्थन पाउने भएका छन् ।

शुक्रबार साँझ बालुवाटारमा बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयंमले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने प्रस्ताव राखेका थिए ।

राष्ट्रपति आफूले पाउनुपर्ने कांग्रेसको दाबी नै थियो । राष्ट्रपतिमा दाबी गर्दै आएको एकीकृत समाजवादीका साथै जनता समाजवादी, जनमत, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले पनि प्रचण्डको प्रस्तावलाई समर्थन गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित आठ दलको बालुवाटारमा शुक्रबार बसेको बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा सघाउने निर्णय गरेका छन्। राष्ट्रपतिको उम्मेदवार कांग्रेसले तय गर्ने भनिए पनि रामचन्द्र पौडेलको नामबारे अनौपचारिक रुपमा टुंगिएको बैठकका एक सहभागीले बताए।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमोर्चा सहभागी थिए।

कांग्रेसले अनौपचारिक रुपमा रामचन्द्र पौडेलको नाम राष्ट्रपतिका उम्मेदवारका रुपमा तय गरिसकेको छ भने आठ दलको बैठकमा पनि उनको नामबारे अनौपचारिक सहमति बनेको थियो।

आठ दलीय बैठकका सहमतिबारे शनिबार बिहान ८ बजे ‍औपचारिक रुपमा जानकारी गराइने एक नेताले जानकारी दिए।

खबरपाटी
खबरपाटी