काठमाडौं । शुक्रबारबाट युएईमा सुरु भएको आईसीसी यू-१९ विश्वकपको एसिया छनोटमा नेपाली युवा टिमले विजयी सुरुवात गरेको छ।
आकाश त्रिपाठी र विशालविक्रम केसीको अर्धशतकप्रेरित नेपालले आईसीसी यू–१९ क्रिकेट विश्वकपको एसिया छनोटमा शुक्रबार सिंगापुरलाई ९६ रनले पराजित गरेको छ।
यूएईको इडेन गार्डेन ओभल अज्मानमा टस जितेर ब्याटिङ थालेको नेपालले सात विकेट गुमाएर दुई सय ६१ रन बनाएको थियो। जवाफी ब्याटिङमा आएको सिंगापुरले सात विकेट गुमाएर एक सय ६५ रनमात्र बनाउन सक्यो।
नेपालका लागि १०० बलको सामना गरेका आकाश ७८ रनको इनिङ खेले। आकाशले सात चौका र एक छक्का प्रहार गरेका थिए। आकाशले दोस्रो विकेटका लागि ओपनर अर्जुन कुमालसँग ९७ रनको साझेदारी गरेका थिए। अर्जुन ६७ बलमा तीन चौकासहित ३७ रन बनाएर पेभेलियन फर्के।
विशालविक्रमले ५४ बलमा चार चौका र दुई छक्कासहित ६३ रनको अविजित इनिङ खेले। कप्तान देव खनाल २१, दीपक बोहरा १७, सुवास भण्डारी १२ र दीपक प्रसाद डुम्रे १० रन बनाएर आउट भए।
त्यस्तै कप्तान देव खनाल २१ रनमा आउट हुँदा दिपक बोहोराले १७ रन बनाए। सुवास भण्डारीले अविजित १२ रन बनाउँदा दिपक डुम्रेले १० रन बनाएका थिए।
प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ। राउण्ड रोबिनका आधारमा शीर्षी स्थानमा रहने टिमले २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपमा स्थान बनाउने छ।