काठमाडौं । पुस १० गते सरकार गठन गर्न आउँछु भनेर बालुवाटारमा नेपाली कांग्रेसका नेताहरुलाई कुराएका एमाले अध्यक्ष केपी ओली अहिले सरकारबाट हट्नु परेपछि निकै विक्षिप्त बनेका छन् । कतिसम्म भने उनमा राजनीतिक संस्कार भने अलिकति पनि देखिएन । उनले राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई जिताउन भन्दै १७ दललाई पत्र लेखे । तर नेपाली कांग्रेसलाई भने पत्र लेख्न आवश्यक नै ठाननेन् । बरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओलीलाई राजनीतिक संस्कार सिकाएका छन् ।
कांग्रेस सभापति देउवाले एमालेका अध्यक्ष ओलीलाई पत्र पठाएर राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेललाई भोट मागेका छन्। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार अपराह्न ओली निवास बालकोट पुगेर देउवाको पत्र बुझाएका हुन् ।
एमालेले भने अहिलेसम्म कांग्रेससँग राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई जिताउन भन्दै भोट मागेको छैन । ओलीले १७ दललाई पत्र पठाए पनि कांग्रेसलाई पठाएका थिएनन् । तर कांग्रेस सभापति देउवाले कुनै द्वैष नराखी ओलीलाई सम्बोधन गर्दै भोट मागेका हुन् । उम्मेदवारी फिर्ता लिने पूर्वसन्ध्यामा कांग्रेस सभापति देउवाले एमाले अध्यक्ष ओलीलाई पत्र पठाएका हुन् ।
देउवाले लेखेको पत्रमा भनिएको छ, ‘लोकतन्त्र भन्नु निर्वाचन मात्र होइन र निर्वाचन भन्नु जितहार मात्र होइन, हामी जान्दछौं । यो अभ्यासले समाजलाई सु९संस्कृत सन्देश दिन सक्नुपर्छ । त्यही स्मरणसाथ यो पत्र यहाँलाई लेखिरहेको छु, राष्ट्रपति पदमा रामचन्द्र पौडेललाई विजयी गराउन उपयुक्त हुने विषयमा ध्यानाकर्षण गरिरहेको छु ।’
देउवाले पौडेललाई सालिन, बौद्धिक र सुसंस्कृत छविका लोकतान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व भनेर उल्लेख गरेका छन् । ‘संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ गर्ने आजको रास्ट्रीय कार्यभार कुशलतापूर्वक सम्पादन गर्दै देशको आर्थिक सामाजिक रुपान्तरणतर्फ गतिशील ढंगले अघिबढ्नु हामी सबैको साझा दायित्व हो । यो दायित्व तपाईं हामीले निभाइरहँदा निर्विवाद अभिभावकत्व निभाउन पौडेल सुयोग्य साबित हुनुहुने विश्वास म यहाँलाई दिलाउन चाहन्छु,’ पत्रमा भनिएको छ ।
गत शनिबार राष्ट्रपतिमा कांग्रेससहित आठ दलको समर्थनमा पौडेलले उम्मेदवारी दर्ता गरेका थिए भने एमालेका उपाध्यक्ष नेम्वाङले उम्मेदवारी दर्ता गरेका थिए । अहिलेसम्म ओलीले राष्ट्रपतिको निर्वाचनलाई लिएर कांग्रेसले आफूसँग भोट नै नमागेको भन्दै ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गुनासो गरेका थिए । कांग्रेसले आफूले उठाउने उम्मेदवारबारे कुनै छलफल नै नगर्ने तर तपाई चाहिँ किन कांग्रेसको कुरा गर्ने भन्दै ओली प्रचण्डसँग रिसाएका थिए । सोही कारण एमालेकै उम्मेदवार राष्ट्रपतिको साझा उम्मेदवार भएको ओलीको दाबी थियो । तर प्रचण्डले एमालेलाई राष्ट्रपति नदिने अडान राख्दा गठबन्धन भत्केको थियो ।
निर्वाचन अधिकृतका कार्यालयका अनुसार मंगलबार १०–४ बजेसम्म राष्ट्रपतिमा उठ्न नचाहे उम्मेदवारी फिर्ता लिने समय छ । मंगलबार साँझ नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यालयको तयारी छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारविरुद्ध उजुरी नपरेको जानकारी दिएको छ ।