काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई राष्ट्रपति बन्न प्रस्ताव गर्दा कांग्रेसलाई सोध्न गएको टिप्पणी गरेका छन्।
शनिबार एकीकृत समाजवादीमा रहेको स्थानीय तह कर्मचारी संघलाई एमालेमा समाहित गर्न आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
‘राष्ट्रपति खानु भन्दा कांग्रेसलाई सोधेर आउँछु भनेर रामचन्द्र पौडेललाई सोध्न गए, रामचन्द्रले होइन मलाई नै चाहिन्छ भने। आठ दलको बैठकमा उहाँ (नेपाल) ले मलाई केपी कमरेडले भेट्नुभयो। कुरा राम्रो छ उहाँको पनि, राष्ट्रको बारेमा चिन्ता गर्नुभयो भनेर लामै बोल्नुभयो।’ ओलीले भने, ‘बैठकमै लामो कुरा नगर्नुस् न, राष्ट्रपतिमा हामी एक जुट भएर जानुपर्यो नि भन्दा होइन त्यो त रामचन्द्र जीलाई छँदैछ नि। त्यसमा त म सहमत नै छु रे। हेर बुद्धि१’
खाना पस्किदियो खान्न भन्ने अनि अर्काको डुँडमा दाना खान जाने भन्दै ओलीले नेपालप्रति कटाक्ष गरे।
पार्टी मिसाउँदा एमाले ठूलो हुने भन्दै समाजवादीले १० सिटले अझै ४ वर्ष खेल्न खोजेको ओलीको टिप्पणी थियो । माओवादी केन्द्रप्रति कटाक्ष गर्दै ओलीले माओवादी कांग्रेसभित्रै छ भनेर प्रचण्डले सार्वजनिक रुपमै बोलेको बताए।
‘खोइ हाम्रो पार्टी भनेर कार्यकर्ताले सोधे, हामी कांग्रेसभित्रै छौं भनेर उहाँले आठ दलको अभिमुखीकरण कार्यक्रममै उहाँले भन्नुभयो, ओलीले थपे, ‘व्यवहारमा छँदै थियो, मुखैबाट साविति बयान दिनुभयो।’
आठ दलीय गठबन्धनको कता जाने भन्ने गन्तव्य नभएको ओलीको टिप्पणी थियो।
‘अब आठ दल पहिलेको जस्तो होइन। धेरै बलियो भएर आयो किनभने एक जना हिरोइनको गरिमामय उपस्थितिमा त्यो बैठक बस्यो। को हिरोइन त मलाई थाहा भएन, सुनेको मैले,’ ओलीले भने, ‘अब देशले गरिखाला कि१ देशले गरी नखाएपनि आठ दलले खाने जस्तो देखियो भनेर मैले टिप्पणी गरेको थिएँ।’
आठ दलीय गठबन्धनको बैठकमा ऋषि धमला पत्नी नायिका एलिजा गौतम सहभागी भएको प्रति ओलीले लक्षित गरेका हुन्।