यूएई विरुद्ध नेपालको शानदार जित, अंक तालिकामा एक स्थान माथि

अन्तिम खेलमा नेपालले ४२ रनले जितेको हो

यूएई विरुद्ध नेपालको शानदार जित, अंक तालिकामा एक स्थान माथि

त्रिदेशीय श्रृङ्खलाको अन्तिम खेलमा नेपालले ४२ रनले जितेको हो । नेपाल दिएको २३० रनको लक्ष्य पछ्याउने क्रममा यूएई १८७ रनमै समेटिएको हो। यूएईका लागि आशिफ खानले ८२, आर्यन लक्राले ५० र वृत्य अरविन्दले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन् ।

नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले तीन/तीन विकेट लिए। त्यस्तै, करण केसी, आरिफ शेख र सन्दीप लामिछानेले एक/एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालको खराब शुरूआत रह्यो। नेपालले ६८ रनमै पाँच विकेट गुमाएको थियो। ज्ञानेन्द्र मल्ल ११, आशिफ शेख ६, कुशल मल्ल ३२, रोहित पौडेल एक र दीपेन्द्रसिंह ऐरी चार रन बनाएर आउट भए।

त्यसपछि भीम सार्कीले सन्दीप लामिछानेसँग ५६ रनको साझेदारी गरे। लामिछानेले २७ रन बनाए।

यस्तै, सार्कीले आरिफ शेखसँग पनि ५६ रनको साझेदारी गरेर नेपालका लागि सम्मानजनक स्कोर बनाए। उनले ९९ बलमा सात चौका प्रहार गर्दै ७० रन बनाए।

जसले गर्दा नेपालले आठ विकटको क्षतिमा २२९ रन बनाएको हो। त्यस्तै, नेपालका लागि आरिफ शेखले ४३, करण केसीले १७ र प्रतिश जीसीले ११ रन बनाए।

यूएईका लागि जुनैद सिद्दीकीले तीन, रोहन मुस्तफा र आर्यन लक्राले दुई(दुई तथा केपी मयप्पनले एक विकेट लिए।

यो जितसँगै नेपाल अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ। नेपालको ३२ खेलमा ३२ अंक भएको छ।

त्यस्तै, स्कटल्यान्ड ५० अंक सहित शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको ओमनको ४४, तेस्रो स्थानमा रहेको नामिबियाको ३९ र चौथो स्थानमा रहेको अमेरिकाको ३५ अंक छ।

यसअघि पाँचौ स्थानमा रहेको यूएई यो हारसँगै छैटौं स्थानमा झरेको छ। यूएईको ३२ खेलमा ३१ अंक छ।

अब नेपालले विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउन बाँकी चारै खेल जित्नुपर्नेछ। लिग*२ अन्तिम त्रिदेशीय श्रृङ्खलामा फागुन २५ गतेदेखि नेपाल, यूएई र पपुवा न्युगिनी भिड्नेछन्। त्रिदेशीय श्रृङ्खला कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।
 

खबरपाटी
खबरपाटी