काठमाडौं । रङको पर्व होली आज तराई क्षेत्रमा हर्षोल्लासका साथ मनाइँदै छ । एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ । बालबालिकाले पिचकारी खेलेर पर्वको रौनक अझ बढाएको पाइएको छ ।
होलीले सामाजिक सद्भाव पनि बढाउने भएकाले यसमा अन्य धर्मावलम्बी सामेल हुने गरेको पाइएको छ ।
होली पर्वका बेला घरपरिवार, आफन्त, इष्टमित्र तथा साथीभाइ एकापसमा रङमा रंगिएर उल्लासपूर्वक वातावरणमा नाचगान, रमाइलो गर्ने प्रचलन छ ।
होली पर्वका कारण बजारमा चहलपहल बढेको पाइएको छ ।
हाडमा सोमबार नै होली मनाइएको थियो । त्यसको एक दिन पछि तराईमा होली मनाउने चलन छ ।
होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा पनि सोमबार बिदा थियो ।
स्थानअनुसार मनाइने होलीको नाम पनि फरक/फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु पूर्णिमा’ र तराई/मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ ।
तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाइने गरिएको छ ।