राष्ट्रपति निर्वाचनको मतपरिणामलगत्तै मन्त्रिपरिषद् विस्तार हुने

राष्ट्रपति निर्वाचनको मतपरिणामलगत्तै मन्त्रिपरिषद् विस्तार हुने

राष्ट्रपति निर्वाचनको मतपरिणामलगत्तै मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको तयारी पूरा भएको छ । बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म राष्ट्रपति निर्वाचनका क्रममा मतदानको समय तोकिएको छ ।

राष्ट्रपति निर्वाचनमा भाग लिन संघीय संसद्का सांसद र प्रदेश सभा सदस्यहरू काठमाडौं आइपुग्ने क्रम जारी छ । नयाँ बानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा मतदानस्थल तोकिएको छ । राष्ट्रपतिका लागि सत्तागठबन्धनबाट साझा उम्मेदवारका रुपमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । संघीय संसदका लागि एउटा र प्रदेशसभा सदस्यहरुलाई अर्को मतदान केन्द्र बनाइएको हो । निर्वाचन अधिकृत महेश शर्माका अनुसार दिउँसो ३ बजेसम्म लाइनमा बसेका मतदाताहरुले मतदान गर्न पाउनेछन् । ‘४ बजेबाट मतगणना सुरु गर्ने र साँझ ७ बजे मतपरिणाम घोषणा गर्ने तयारी छ,’ उनले भने ।

राष्ट्रपति निर्वाचनमा आठ सय ८२ सांसद मतदाता रहेका छन् । सभामुख देवराज घिमिरे, मनाङका निलम्बित सांसद टेकप्रसाद गुरुङ र चितवन २ बाट प्रतिनिधिसभा सदस्य भई पछि सांसद पद खारेज (रवि लामिछाने) भएकाले मत हाल्ने छैनन् । महोत्तरी १ का एमाले सांसद लक्ष्मी महतो कोइरीको नाम मतदाता सूचीमा भए पनि उनी हाल फरार छन् । सशस्त्र प्रहरी जवान थमन विकको हत्या अभियोगमा मुछिएका कोइरीलाई अदालतले सजाय सुनाइसकेको छ । बिहीबार हुने निर्वाचनमा उनी आउँछन् कि आउँदैनन् रु त्यो भने हेर्न बाँकी छ ।

बिहीबार साँझ नै नयाँ राष्ट्रपति निर्वाचित भएको घोषणा गरिएपछि आठदलीय गठबन्धनमा रहेका दलहरू मन्त्रिपरिषद् विस्तारका लागि छलफलमा जुट्ने भएका छन् । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले सरकार छाडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १६ वटा मन्त्रालयको जिम्मेवारी निर्वाह गरिरहेका छन् । सोही कारण राष्ट्रपतिको घोषणा भएलगत्तै उनले कांग्रेसलाई सरकारमा सहभागी हुन आग्रह गर्ने भएका छन् । कांग्रेसले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि मात्र सरकारमा जाने बताएको थियो । तर प्रधानमन्त्री प्रचण्डकै जोडबलका कारण आइतबारसम्म मन्त्रिपरिषद् विस्तार हुने सम्भावना देखिएको छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले त्यसको संकेत गरेका छन् । उनले कांग्रेस सरकारमा जाने तयारीमा रहेको बताएए । कांग्रेस सरकारमा गएपछि अर्थतन्त्रमा आएको ज्वरोलाई हटाउने उनको भनाइ छ । नेपाली कांग्रेसले काठमाडौंमा नेपालको पछिल्लो आर्थिक अवस्थाबारे निजी क्षेत्रसँगको छलफल कार्यक्रममा बोल्दै उनले निश्चित ढाँचा र ढर्राबाट चलिरहेको नेपालको अर्थतन्त्रलाई संरचनागत सुधार र उपचार नगर्ने हो भने कुनै न कुनै बेला थला पर्ने अवस्थामा पुग्ने बताए ।

कांग्रेसबाट सरकारमा कसले नेतृत्व गर्ने निधो भइसकेको छैन । उपसभापति पूर्णबहादुर खड्काले मन्त्री नबन्ने घोषणा गरेकाले पार्टी सभापति शेरबहादुर देउवा महामन्त्री थापालाई पार्टीको नेतृत्व गरी सरकारमा पठाउने मनस्थितिमा पुगेको स्रोतले बतायो । धुम्बाराही स्रोतका अनुसार थापालाई उपप्रधानसहित अर्थमन्त्रीको जिम्मेवारी दिइने भएको छ ।

खबरपाटी
खबरपाटी