भोलि हुने राष्ट्रपति चुनावका लागि तयारी अन्तिम चरणमा, दुई वटा मतदान केन्द्र निर्माण

नयाँ बानेश्वरमा रहेको संसद् भवनको ल्होत्से हलमा दुई वटा निर्वाचन केन्द्र निर्माण गरिएको निर्वाचन सहायक अधिकृत अमृता शर्माले जानकारी दिए ।

भोलि हुने राष्ट्रपति चुनावका लागि तयारी अन्तिम चरणमा, दुई वटा मतदान केन्द्र निर्माण

काठमाडौं । भोलि हुने राष्ट्रपति चुनावका लागि तयारी अन्तिम चरणमा पुगेको छ । भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । मतदानका लागि दुई वटा मतदान केन्द्र निर्माण गरिएको छ ।

नयाँ बानेश्वरमा रहेको संसद् भवनको ल्होत्से हलमा दुई वटा निर्वाचन केन्द्र निर्माण गरिएको निर्वाचन सहायक अधिकृत अमृता शर्माले जानकारी दिए । 

चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित बनाउन सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि मतदान गर्न बेग्ला–बेग्लै मतदान केन्द्रको व्यवस्था गरिएको हो । 

राष्ट्रपति चुनावमा सङ्घीय संसद्का तीन सय ३४ मध्ये तीन सय ३१ र प्रदेशसभा सदस्य पाँच सय ५० मतदाता रहेका छन् ।

सङ्घीय सांसदको एक मत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ ।

यस आधारमा सबै सङ्घीय सांसदको मतभार २६ हजार १ सय ४९ र प्रदेशसभा सदस्यको २६ हजार ४ सय गरी कुल मतभार ५२ हजार ५ सय ४९ रहेको छ । राष्ट्रपतिमा निर्वाचित हुन २६ हजार २ सय ७५ मतभार ल्याउनुपर्छ ।

सङ्घीय सांसद मनाङबाट निर्वाचित कांग्रेसका टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्धामा निलम्बनमा रहेका छन् । चितवनको निर्वाचन क्षेत्र नं २ रिक्त छ भने जसपाका समानुपातिक सांसद सहनाज रहमानको केही दिन अघि निधन भएको थियो ।

चुनावका लागि सङ्घीय सांसदको मतदान केन्द्रमा उच्च अदालत पाटनका उपरजिष्ट्रार केशव पौडेल र प्रदेशसभा सदस्यको मतदान केन्द्रमा सर्वोच्च अदालतका उपरजिष्ट्रार लोकनाथ पराजुली खटिनुभएको छ ।

चुनावलाई केन्द्रीत गरी काठमाण्डौमा सुरक्षा सर्तकता उच्च पारिएको छ । यसपाली राष्ट्रपति चुनावमा उम्मेदवारको फोटोसहितको मतपत्र प्रयोग हुँदैछ ।

उम्मेदवारको नाम र फोटोसहितको मतपत्र छपाएर निर्वाचन अधिकृतको कार्यालयमा पठाएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

राष्ट्रपति पदमा नौ दलीय गठबन्धनकातर्फबाट साझा उम्मेदवारमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन ।

नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको नौ दलीय गठबन्धनले राष्ट्रपति चुनावका लागि मतदातालाई आज बिहान ११ बजेसम्ममा काठमाण्डौ आइपुग्न निर्देशन समेत दिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ मा सकिदैछ ।

खबरपाटी
खबरपाटी