रामचन्द्र पौडेल विजयी भएपछि नेम्वाङले भने - 'लोकतन्त्रमा विश्वास गर्नेले प्रतिस्पर्धामा विश्वास गर्नुपर्छ'

राष्ट्रपतिको बिहीबार भएको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएपछि उनले लोकतन्त्रमा विश्वास गर्नेले प्रतिस्पर्धामा विश्वास गर्नुपर्ने धारणा व्यक्त गरे

रामचन्द्र पौडेल विजयी भएपछि नेम्वाङले भने - 'लोकतन्त्रमा विश्वास गर्नेले प्रतिस्पर्धामा विश्वास गर्नुपर्छ'

काठमाडौँ । राष्ट्रपति पदका प्रतिस्पर्धी सुवासचन्द्र नेम्वाङले राष्ट्रपति निर्वाचनको परिणामलाई आफूले हार्दिकतापूर्वक स्वीकार गरेको बताएका छन् ।

राष्ट्रपतिको बिहीबार भएको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएपछि उनले लोकतन्त्रमा विश्वास गर्नेले प्रतिस्पर्धामा विश्वास गर्नुपर्ने धारणा व्यक्त गरे ।

उपाध्यक्ष नेम्वाङले भने, ‘घोषणा भएको निर्वाचन परिणामलाई पनि मैले त्यसै रूपमा लिएको छु । राष्ट्रपतिजस्तो सम्मानित पदमा मेरा मित्र पौडेलजी निर्वाचित हुनुभएको छ, कार्यकाल सफलताका लागि मेरो बधाई र शुभकामना छ ।’

जनताले जनताका लागि संविधानसभाबाट संविधान बनाएपछि राष्ट्रपतिको महत्त्वपूर्ण निर्वाचनको चरणबाट गुज्रिएको उल्लेख गर्दै उनले भने, ‘यो निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । मलाई धेरै नै खुसी लागेको छ । यसलाई लोकतन्त्रको महत्त्वपूर्ण कडीका रूपमा म सम्झन्छु ।’

जनताले हाम्रै परिवारको व्यक्ति राष्ट्रपति भएको छ भन्ने अनुभूति गर्न पाउनुपर्छ भन्नेमा जोड दिँदै संविधानसभाका अध्यक्ष नेम्वाङले संविधान र कानुनबमोजिम राष्ट्रपतिको भूमिका सफलतापूर्वक सम्हाल्न सुझाव दिए । उनले भने, ‘मेरो तर्फबाट मित्र रामचन्द्रजीलाई पूरै साथ, सहयोग र समर्थन रहने छ भन्ने विश्वास दिलाउन चाहन्छु ।’
 

खबरपाटी
खबरपाटी