काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर २९७ रन बनाएको हो । यो नेपालको अहिलेसम्मकै उच्च स्कोर हो।
यसअघि नेपालको पहिलो इनिङमा सबैभन्दा बढी २८७ रन बनाएको थियो। गत फेब्रुअरीमा त्रिवि मैदानमै भएको खेलमा नेपालले नामिबिया विरुद्धको खेलमा २८७ रन बनाएको थियो ।
नेपालका लागि शेखले पहिलो शतक प्रहार गरे। उनले ११० बलमा ११० रन बनाए। जसमा १२ चौका दुई छक्का समावेश छन्। यसअघि उनको उच्च स्कोर ९० रन थियो ।
यससँगै उनले एकदिवसीय खेलमा एक हजार रन पूरा गरेका छन् । उनले ३२ खेलमा एक हजार २० रन बनाएका छन्।
त्यस्तै, नेपालका लागि कुशल भुर्तेलले ४५, भीम सार्कीले ४४, रोहित पौडेलले ३०, आरिफ शेखले १५ र ज्ञानेन्द्र मल्लले ११ रन बनाए।
पपुवा न्युगिनीका लागि सेमो कमियाले पाँच, रिले हेकुरले तीन र अलेइ नावले एक विकेट लिए।