काठमाडौँ । नयाँ राष्ट्रपतिको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदान सुरु भएको हो ।
सङ्घीय सांसदतर्फ राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले तथा प्रदेशसभातर्फ बागमती प्रदेशसभा सदस्य प्रकाश श्रेष्ठले पहिलो मतदान गरेका हुन् । मतदाता मतदान स्थलमा पुगिसकेका छन् । अहिले बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् । तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा ९एमाले० का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।
कांग्रेसका पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार छन् ।
राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छन् । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।