काठमाडौँ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ठूलो मतान्तरले मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका छन् । नौ दलीय गठबन्धनको साथ पाएका पौडेलले एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई १८ हजार २ सय ८४ मतभारले पछि पार्दै राष्ट्रपति चुनिएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबार सकिने हुनाले पौडेलले सोमबार शपथग्रहण गरेपछि पद सम्हाल्नेछन् ।
निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार पौडेललाई प्रतिनिधिसभा र राष्ट्रिय सभाका २ सय १४ तथा प्रदेशसभाका ३ सय ५२ सांसदले मत दिएका थिए । संघ र प्रदेशका ५ सय ६६ सांसदको ३३ हजार ८ सय २ मतभार पौडेलले पाएका हुन् । राष्ट्रपति निर्वाचनमा कुल मतभार ५२ हजार ६ सय २८ कायम गरिएको थियो । राष्ट्रपतिमा निर्वाचित हुन ५० प्रतिशत मत कटाए पुग्नेमा पौडेलका पक्षमा ६४।२२ प्रतिशत मत खसेको थियो ।
निर्वाचनमा एमाले उम्मेदवार नेम्वाङलाई संघीय संसद्का ९८ र प्रदेशसभाका १ सय ६२ सांसदले मत दिएको निर्वाचन अधिकृत पौडेलले जानकारी दिए । नेम्वाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरेका हुन् । प्रदेशसभा सदस्यको मतभार ४८ र संघीय सांसदको मतभार ७९ हुन्छ । संघीय संसद्का ३ सय ३१ सांसदमध्ये ३ सय १२ र प्रदेशसभाका ५ सय ५० मध्ये ५ सय १८ जनाले भाग लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन आयोगले शुक्रबार ४ बजे निर्वाचनको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउँदै छ ।
राप्रपा र नेमकिपाले राष्ट्रपति निर्वाचन बहिष्कार गरेका छन् । राप्रपाका संघीय संसद्मा १४ र प्रदेशसभामा २८ सांसद छन् । नेमकिपाका संघीय संसद्मा १ र प्रदेशमा ३ सांसद छन् । कांग्रेसका चन्द्र भण्डारी र माओवादीका वर्षमान पुन उपचारमा रहेकाले मतदानमा सहभागी भएनन् । एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी पनि मतदानमा सहभागी भएनन् । प्रदेशतर्फ मधेश प्रदेशकी जसपा सांसद बिन्दु यादव भारतमा उपचारमा रहेकीले अनुपस्थित भइन् ।
निर्वाचनमा सहभागी एमालेबाहेक सबै दलको साथ पाएर पौडेल विजयी भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए । नेम्वाङले राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनीत दुईसहित एमालेका ९७ सांसद र एक स्वतन्त्र सांसदको मत पाएका हुन् । प्रदेशमा एमालेका १ सय ६१ सांसद रहेकामा नेम्वाङलाई १ सय ६२ जनाले मत दिएका थिए ।
बिहीबार १० बजे सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो । राष्ट्रपति निर्वाचनको पहिलो मत पौडेलले हालेका थिए । मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पौडेलले राष्ट्रपति बनेपछि संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने उद्देश्य रहेको उनले बताएका थिए । उनले भनेका थिए, ‘संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने उद्देश्य हो मेरो । संविधानको अक्षरशः भावनालाई इमानदारीपूर्वक पालना गर्ने कुरामा आफूलाई समर्पित गर्छु । गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्नेमा म सचेत छु । सबैले माया गरेका छन्, सबैको विश्वासमा रहनेछु ।’