काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा साविक च्याम्पियन मच्छिन्द्र र सर्वाधिक ८ पटकको च्याम्पियन मनाङले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन्। जारी सिजन दुवै क्लव गतिलो प्रदर्शन गर्न असफल रहँदा तेस्रो चरणमा १–१ अङ्क बाँडन बाध्य भए।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार मनाङसँग बराबरी खेलेसँगै साविक च्याम्पियन मच्छिन्द्रले तेस्रो खेलमा पहिलो अङ्क हासिल गर्यो। प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलको राम्रा मौका चुकाउँदा खेल गोलविहीन बनेको थियो। शुरुवातमा राम्रो लयमा देखिएको मच्छिन्द्रले खेलको दोस्रो मिनेटमानै राम्रो अवसर गुमाउन पुग्यो। विमल घर्तीमगरको पासमा पुजन उपरकोटीले गरेको उत्कृष्ट प्रहार मनाङका गोलरक्षकले बचाएका थिए। त्यस्तै डिफेन्डरले गरको कमजोर क्लियरेन्सको फाइदा उठाउँदै सातौं मिनेटमा मनाङका विसन गुरुङको प्रहार मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले बचाउँदा मनाङले पनि सुरुवातमै गोलको मौका चुकाएको थियो। त्यसपछि पनि दुबै टिमले पहिलो हाफमा अन्य सिमित अवसर सिर्जना गरेपनि सफल हुन सकेनन्।दोस्रो हाफमा पनि दुबै टोली गोलका लागि प्रयासरत रहे। ७३ औं मिनेटमा मछिन्द्रका छिरिङ गुरुङको क्रसमा बिजय भुजेलको हेडलाई विमलले पोस्टको दिशा दिन असफल रहे। खेलको ८१ औं मिनेटमा मछिन्द्रका सौरभ लिम्बुले पेनाल्टी बक्स भित्रबाट राम्रो मौका गुमाउन पुग्दा सम्भावित अग्रताबाट मच्छिन्द्र चुकेको थियो।