काठमाडौं । औषधि प्रतिरोधक क्षयरोग (डिआरटिबी) का बिरामीको सङ्ख्या बढ्न थालेपछि सुदूरपश्चिम प्रदेशमा क्षयरोग प्रयोगशालाको स्तरोन्नति गरिएको छ ।
लामो समयदेखि यहाँ क्षयरोगका बिरामीको सेवा पाइरहेको भए पनि पछिल्लो समय मुलुकमै जटिल खालका क्षयरोगका बिरामीको सङ्क्रमण दर बढ्न थालेपछि त्यसको स्तरीय परीक्षणका लागि डडेल्धुरा र कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालबाट ‘डिआरटिबी एक्सपोर्ट’ सेवा सुरु गरिएको छ ।
“डिआरटिबी एक्सपोर्ट सेवा नहुँदा सुदूरपश्चिमबाट नमूना सङ्कलन गरेर काठमाडौँ पठाएर जाँच गराउनुपर्ने अवस्था थियो”, क्षयरोग नियन्त्रण कार्यक्रम सुदूरपश्चिम प्रदेशका सम्पर्क व्यक्ति ईश्वरीप्रसाद भुसालले भन्नुभयो, “डिआरटिबी एक्सपोर्ट डिआर सेवा शुरु भएपछि अब बिरामीले छरितो सेवा पाउनेछन् ।” उक्त रिपोर्टका लागि महिनौ कुर्नुपर्ने बाध्यता अब हटेको उहाँको भनाइ छ ।
डडेल्धुरामा दुई महिनाअघि उक्त सेवा विस्तार गरिएको उल्लेख गर्दै उहाँले महाकाली अस्पतालमा पनि तीन दिन अघिदेखि सो सेवा सञ्चालनमा आएको बताउनुभयो । “कैलालीमा पनि उक्त सेवा लक्ष्मी नारायाण क्षयरोग रिफरल अस्पतालबाट दिने तयारी छ”, उहाँले भन्नुभयो, “अब क्षयरोगको औषधि सेवनकर्तालाई औषधिले गरिएको प्रभावबारे सहजै पत्ता लगाउन सहज भयो ।” डिआरटिबी एक्सपोर्ट सेवाबाट जाँच तथा बिरामीलाई निःशुल्क उपचार हुनेछ ।
“क्षयरोगका बिरामीलाई औषधि चलाउन पनि यो सेवा विस्तारले सहज भयो”, भुसालले भन्नुभयो, “विश्वकै नयाँ प्रविधि हो, औषधि प्रतिरोधात्मक क्षयरोगी राष्ट्रियरुपमै बढेका छन् ।”
सो सेवा सञ्चालनमा आएसँगै क्षयरोग नियन्त्रण प्रभावकारी ढङ्गले अघि बढ्ने महाकाली प्रादेशिक अस्पतालका ल्याब टेक्निसियन रमेशचन्द्र ओझाले बताउनुभयो । “क्षयरोगका बिरामीको औषधिले काम गरे÷नगरेको परीक्षण प्रयोगशालामा हुन्छ”, उहाँले भन्नुभयो, “नियमित औषधिले निको हुने र औषधिले निको नहुँने अवस्थाबारे पनि अब थाहा पाउन सहज हुन्छ ।”
यसअघि महाकाली अस्पतालमा क्षयरोगको ‘रिफामपिसिन’ नामक औषधिको उपयोगिता यहाँको प्रयोगशालामा जाँच हुँदै आएको थियो । महाकाली अस्पतालमा दैनिक १५ देखि २० जना क्षयरोग जाँचका लागि आउने गरेको ओझा बताउनुहुन्छ ।
“चालु आर्थिक वर्षमा ७२ जनाले महाकालीबाट निःशुल्क औषधि सेवन गरिरहेका छन्”, उहाँले भन्नुभयो, “मासिक २० देखि २५ जनामा क्षयरोगको सङ्क्रमण पुष्टि हुने गरेको छ”, अस्पतालका अनुसार राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरको पहलमा यहाँ डिआरटिबी एक्सपोर्ट सेवा सञ्चालनमा आएको हो । रासस