काठमाडौं । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० को आठ महिनामा ४३ दशमलव ८२ प्रतिशत राजस्व सङ्कलन गरेको छ । महानगरपालिकाले चालु आवमा १० अर्ब ४१ करोड ९५ लाख राजस्व उठाउने लक्ष्य राखेकामा चार अर्ब ५६ करोड ६२ लाख उठाएको जनाएको छ ।
महानगरपालिकाको राजस्व विभागका अनुसार सबैभन्दा धेरै राजस्व सङ्कलन मनोरञ्जन करमार्फत उठेको छ । मनोरञ्जन करमा ५० लाख राजस्व उठाउने लक्ष्य राखेको महानगरले एक सय ८१ प्रतिशत अर्थात् ९० लाखभन्दा धेरै राजस्व उठाएको छ । महानगरले रकमका आधारमा सबैभन्दा धेरै कर घरबहाल कर उठाएको छ ।
महानगरले दुई अर्ब राजस्व उठाउने लक्ष्य राखेको घरबहाल करमा आठ महिनामा एक अर्ब १८ करोड सङ्कलन गरेको जनाएको छ । महानगरले सम्पत्ति करमा चालु आवमा रु एक अर्ब राजस्व उठाउने लक्ष्य राखेकामा ६५ करोड उठाएको छ ।
यसैगरी नक्सापास दस्तुरबाट ४१ करोड उठेको छ । उक्त शीर्षकमा महानगरले चालु आवभरिमा ७५ करोड राजस्व उठाउने लक्ष्य राखेको छ ।रासस