चैते वर्षाले किसानलाई राहत

पूरै हिउँद पानी नपरी बित्दा मध्य फागुनदेखि नै बढेको गर्मीले असहज भएको मधेसको जनजीवनलाई आज बिहान अल्पवर्षा भए पनि राहत

चैते वर्षाले किसानलाई राहत

काठमाडौं । पूरै हिउँद पानी नपरी बित्दा मध्य फागुनदेखि नै बढेको गर्मीले असहज भएको मधेसको जनजीवनलाई आज बिहान अल्पवर्षा भए पनि राहत भएको छ । महोत्तरीसहितका मधेसका धेरैजसो ठाउँमा आज बिहान सामान्य बदलीबीच भएको अल्पवर्षाले चढ्दो गर्मीबाट राहत पाएको सर्वसाधारणले बताएका छन् ।

“रुखिएको जग्गामा चिस्यान हुनेगरी त पानी परेन, तर चिसो बताससँगै एकछिन परेको पानीले अत्यधिक बढेको गर्मीबाट राहत मिलेको छ”, भङ्गाहा नगरपालिका–५ सीतापुरका ९२ वर्षीय मानबहादुर भुजेल भन्छन, “रुख बिरुवाका पातमात्रै भिजाए पनि अहिलेको वर्षा अमृतसरह बनेको छ ।” यसपालि पूरै हिउँद पानी नपरी बितेका बेला लाग्दो चैतमै आज बिहान सिमसिमे पानी परेको हो ।

आजको वर्षाले वैशाखी तरकारीका बेला (लहरा) पात भिजाएको, फलफुलका बोट (आँप, लिची का मज्जर (मञ्जरी,फलफुल ) र पातमा लागेका किरा, धब्बा पखालेको किसानले बताएका छन् । “मुख्य त आँपमा मधुवा (मज्जरमा लाग्ने एक प्रकारको रोग) लाग्ने डर रहेकाबेला पानीले हाँगा, पात, मज्जरका धब्बा, माकुराको जालो पखाली दिएको छ”, बर्दिबास–५ ढुङ्ग्रे बस्तीका किसान दलबहादुर थापा मगर भन्छन, “यसले मधुवाको प्रकोप हुन दिँदैन भन्ने आश छ ।”

जग्गामा चिस्यान हुनेगरी वर्षाको आशमा रहेका यहाँका किसानले सुक्खा भएको जग्गा खनजोत गर्न भने अझै पर्खनुपर्ने भएको छ । चिस्यान हुनेगरी पानी पर्नासाथ महोत्तरीको उत्तरीक्षेत्रका किसान बर्खे मकै, कोदो लगाउन र बर्खे धानको धुले ब्याड राख्न मिल्ने ताक (समय)को पर्खाइमा छन् ।

“सबै ठिक हुनेगरी हिसाब गरेर कहाँ प्रकृति चल्दो रहेछ र ?”, भङ्गाहा–४ पलार बस्तीका ८० वर्षीय वृद्ध किसान चौठी सर्दार बाँतर भन्छन , “मुख्य कुरा प्रचण्ड गर्मीले काममा निस्कन सकिएको थिएन, हल्का वर्षाले यसमा राहत दियो ।” अन्य बालीमा परेको अनुकूलतालाई उपयोग गर्दै चित्त बुझाउन पर्ने बाँतर बताए ।

खबरपाटी
खबरपाटी