काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा भारतीय चलचित्रकर्मी अनुपम बर्वेले सञ्चालन गर्नुभएको तीन दिने चलचित्र पटकथा लेखन र निर्देशन विषयक कार्यशाला सम्पन्न भएको छ ।
आईतवार बोर्डको हलमा प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गर्दै समापन गरिएको कार्यशालामा ४८ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । चलचित्रकर्मी बर्वेले नेपालमा अनुभवी तथा नयाँ चलचित्रकर्मीसँग तीन दिन बिताउदा सिकाउनुका साथै सिक्न पनि पाएको बताउनुभयो, “प्रशिक्षार्थीले मसँग बाँड्नुभएको कथा र शैली मेरो लागि नयाँ थिए । अनुभव साटासाट गर्दा यसले मलाईसमेत फाइदा पुगाएको छ । म पुनः नेपाल फर्किने चाहना बोकेर स्वदेश फर्किदै छु”, चलचित्रकर्मी बर्वेले भन्नुभयो ।
प्रशिक्षार्थीको रुपमा सहभागी चलचित्र निर्देशक ज्ञानेन्द्र देउजाले सिकाइ कहिले नसकिने बताउनुभयो । उहाँले भन्नुभयो “सिक्ने अवसरलाई छाड्नु हुँदैन । अन्यभन्दा सिनियर भएपनि सँगै सहभागी हुँदा नयाँ कुराहरू सिक्न पाए । नयाँ चलचित्रकर्मी बन्ने उद्देश्य बोकेकाको सोचसँग साक्षात्कार गर्ने अवसर पाएँ ।”
बोर्डका अध्यक्ष भुवन केसीले सफल चलचित्र निर्माणमा संलग्न हुन पटकथा लेखन तथा निर्देशनमा गहिरो ज्ञान हुनु आवश्यक रहेकाले कार्यशालाको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “यसले चलचित्रकर्मीलाई मनोरञ्जन मात्र होइन, विचार–उत्तेजक र सामाजिकरूपमा सान्दर्भिक सिर्जना गर्न मदत गर्नेछ ।” उहाँले बोर्ड राष्ट्रिय चलचित्र उद्योगलाई सहयोग र प्रवद्र्धन गर्न सदैव प्रतिवद्ध रहेकोसमेत बताउनु भयो । बोर्डकै सभाहलमा कार्यशाला यही चैत ३, ४ र ५ गते चलेको थियो । रासस