लुम्बिनी र गण्डकीमा कांग्रेसबाट मुख्यमन्त्री, यी हुन् चर्चामा रहेका नेता

केन्द्रमा फेरिएको सत्ता समीकरणको प्रभाव प्रदेश सरकारमा पनि पर्ने देखिएको छ

लुम्बिनी र गण्डकीमा कांग्रेसबाट मुख्यमन्त्री, यी हुन् चर्चामा रहेका नेता

काठमाडौंं । केन्द्रमा फेरिएको सत्ता समीकरणको प्रभाव प्रदेश सरकारमा पनि पर्ने देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएसँगै केन्द्रमा मन्त्रिपरिषद विस्तार र प्रदेशहरूमा पनि नयाँ समीकरण बनाउन नेताहरूले तयारी थालिसकेका छन् ।

एमालेका मुख्यमन्त्रीहरू बिदा भएर कांग्रेस र एकीकृत समाजवादीका मुख्यमन्त्री बन्ने भएका छन् । कोसी प्रदेशमा एकीकृत समाजवादीले मुख्यमन्त्री पाउने बुझिएको छ । त्यहाँ एमालेका हिक्मत कार्की मुख्यमन्त्री छन् । लुम्बिनी र गण्डकी प्रदेशमा कांग्रेसले मुख्यमन्त्री पाउने छ । अहिले लुम्बिनीमा एमालेका लिला गिरी र गण्डकीमा खगराज अधिकारी छन् । सुदूरपश्चिममा कांग्रेसले मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेको छ । त्यहाँका कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन् ।

लुम्बिनीमा सत्तासमीकरण बदल्न कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायतका दलहरूले कसरत सुरु गरिसकेका छन् । लुम्बिनी प्रदेश सभाको बैठक मंगलबार बस्दै छ । बैठकअघि नै प्रदेश सरकारबाट बाहिरिने तयारीमा माओवादी, जसपा, जनमतलगायतका दलहरू छन् । यदि माओवादी र जसपा बाहिरिएमा ती प्रदेशमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । तर अहिलेको समीकरणअनुसार कोसी, गण्डकी र लुम्बिनीमा एमालेका मुख्यमन्त्रीले कहीँ पनि विश्वासको मत पाउने सम्भावना छैन ।

लुम्बिनीमा कांग्रेसबाट डिल्ली चौधरी मुख्यमन्त्री सम्भावना धेरै रहेको नेताहरु बताउँछन् । उनी पार्टी सभापति शेरबहादुर देउवा निकट हुन् । कांग्रेस संसदीय दलका नेता चौधरी यसअघि पनि माओवादीसँग भएको भद्र सहमतिअनुसार लुम्बिनी प्रदेशमा कांग्रेसले माओवादीका कुलप्रसाद केसीलाई समर्थन गरेको जिकिर गर्दै अब कांग्रेसले नेतृत्व पाउनुपर्ने दाबी गर्दै आएका छन् ।
८७ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि कम्तिमा ४४ सांसदको समर्थन आवश्यक हुन्छ । एमालेका २९ सांसद छन् ।

उसलाई बहुमत जुटाउन थप १५ सांसद चाहिन्छ । चार सिट भएको राप्रपामात्रै नयाँ गठबन्धनमा छैन । दुईजना स्वतन्त्र सांसदले पनि कांग्रेस र माओवादीलाई समर्थन गर्ने सम्भावना छ । २७ सिट भएको कांग्रेस र १० सिट भएको माओवादी केन्द्र मिल्दा ३७ सिट हुन्छ । यी दुई दललाई बहुमत जुटाउन थप सात सांसद चाहिन्छ । प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन् । जनमत, जसपा र लोसपासँग तीन–तीन सांसद छन् । राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीसँग एक–एक सिट छ भने दुईजना स्वतन्त्र सांसद छन् ।

गण्डकी प्रदेशमा कांग्रेस नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्ने बताइएको छ । निर्वाचनकै बेला माओवादी अध्यक्ष प्रचण्डले गण्डकी प्रदेशको भावी मुख्यमन्त्री पाण्डे भनेर घोषणा गरिसकेका थिए । पाण्डे प्रचण्डकै निर्वाचन क्षेत्रबाट विजयी भएका हुन् । गण्डकीमा कांग्रेसका २७ सांसद छन् । माओवादीले समर्थन गर्नेवित्तिकै सजिलै पाण्डे मुख्यमन्त्री बन्नेछन् । अहिले बागमती र कर्णालीमा मुख्यमन्त्री माओवादीका छन् ।

खबरपाटी
खबरपाटी