काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता गिरिजाप्रसाद कोइरालाको आज १३औँ स्मृति दिवस मनाइँदैछ । नेपाली कांग्रेस, भातृसङ्गठनलगायतका विभिन्न सङ्घ संस्थाले उनको स्मृतिमा विभिन्न कार्यक्रम गरी मनाउने गरेका छन् ।
कोइरालालाई मुलुकले पूर्वप्रधानमन्त्रीका साथै लोकतान्त्रिक गणतन्त्रको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेताका रुपमा समेत स्मरण गर्दछ ।
वर्तमान राजनीतिक उपलब्धि तत्कालीन दशवर्षे सशस्त्र द्वन्द्वको अन्त्यका लागि गरिएको शान्ति सम्झौता र त्यसपछिको संविधानसभा निर्वाचनबाट मात्र सम्भव भएको थियो । जसमा स्वर्गीय कोइरालाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कोइरालालाई बृहत्त शान्ति सम्झौताका एक हस्ताक्षरकर्ताका रुपमा पनि चिनिन्छ ।
तर चितवनबासीका लागि भने उनलाइ सम्झिनेरहने अन्य कारण पयिन छन् । उनकै नेतृत्वमा जिल्लामा भएका महत्वपूर्ण कामका लागि आज पनि चितवनबासी कोइरालालाई सम्झिरहन्छन् ।
पचासको दशकमा जिल्लाले विकासको गति लिन सुरु ग¥यो । तत्कालिन जिल्ला विकास समितिका सभापति कृष्णलाल सापकोटाका अनुसार कोइराला प्रधानमन्त्री हुँदा चितवन राष्ट्रिय निकुञ्जभित्रको पदमपुर गाउँ विकास समिति निकुञ्ज बाहिर सारियो । त्यति नै बेला राप्तीमा बाढीका कारण पूर्वीचितवनका धेरैले जनधन गुमाए । त्यहाँ राप्ती तटबन्धनका लागि ड्याकको काम भएको उनी बताए ।
भरतपुरमा चीन सरकारको सहयोगमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल बन्यो । माडी आवतजावतका लागि राप्ती नदीमा पुल निर्माणको काम भयो । माडी ठोरी हुलाकी सडकको काम पनि त्यति बेला नै भएको सापकोटाको भनाइ छ । भारतीयको लगानी रहेको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल चितवन ल्याउनुमा पनि कोइरालाको योगदान छ ।
विगतलाई सम्झँदै सापकोटाले भने “गिरिजाबाबु चीन थिए , उनले मलाई फोन गरे । चिनियाँहरुले बिपी बाबुको नाउँमा क्यान्सर अस्पताल खोल्न खोज्दैछन् । जग्गा खोज्न सकिन्छ ?” । मैले सकिन्छ भन्ने उत्तर फर्काएँ । आफू जिविस सभापति भएकाले उनले त्यहीबाट टेलिफोनमा सोधेको उनको भनाइ छ ।
गिरिजाबाबु चीनबाट फर्किएपछि त्यहाँको चिनियाँ टोली चितवन आएको सापकोटाले सुनाए । पूर्वी चितवनका कांग्रेस नेता शेषनाथ अधिकारीले त्यही क्षेत्रमा अस्पताल खोल्न चिनियाँ टोलीलाई जयमङ्गला र खैरहनी गौचरन देखाए पनि भरतपुरको जग्गामा चिनियाँहरु अस्पताल बनाउन राजी भएको सापकोटाले बताए ।
राप्ती नदीमा बाढीले ठूलो धनजनको क्षति गरेपछि त्यहाँ अनुगमनमा आइपुग्नु भएका कोइरालाले राप्तीमा तटबन्धन ड्याक मात्रै होइन, त्यहाँबाट माडी पुगेर पुल निर्माणको घोषणा गरेको सापकोटा बताए । विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा पुल निर्माण कठिन भएपनि कोइरालाले जनताको आवश्यकतालाई महसुस गरी पुल बनाएको सापकोटा स्मरण गर्छन ।
यससँगै भरतपुर–माडी ठोरी हुलाकी सडक निर्माणमा पनि कोइरालाकै योगदान छ । निकुञ्ज स्थापनाको समयमा तयहाँको पदमपुर गाउँपालिकालाई स्थानान्तरण गर्ने भनिए पनि सम्भव भएको थिएन । कोइराला प्रधानमन्त्री हुँदा निकुञ्जभित्रको बस्ती पदमपुर पूर्वी चितवनमा स्थानान्तरण गर्ने काम भएको छ ।
पदमपुर स्थानान्तरण समितिका अध्यक्ष बाबुराम पुरीका अनुसार कोइरालाको उक्त निर्णयका कारण झण्डै दुई हजार चार सय घरधुरी पदमपुरवासीलाई हालको कालिका नगरपालिकामा सुरक्षित ठाउँमा स्थानान्तरण सम्भव भएको हो । उनले भने , “सिङ्गो गाउँ विकास समिति स्थानान्तरण सहज थिएन ।”
“बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा बनेसँगै यहाँ भारतीयहरुको लगानीमा कलेज अफ मेडिकल साइन्सेस स्थापना भएको हो”, सापकोटाले विगतलाई सम्झँदै भने , “हामीले गिरिजाबाबुसँग डेलिगेसन गयौा, शुरुमा उनले त्यहाँ क्यान्सर अस्पताल छ, मेडिकल कलेजलाई नेपालगञ्ज लैजानुपर्छ भने । हामीले क्यान्सर अस्पताल भएकै कारण मेडिकल कलेज पनि चितवनमा चाहिन्छ भनेका थियौ ।”
समय–समयमा मेडिकल कलेजका सञ्चालक डा भि नटराजप्रसादले गिरिजाबाबुले आफूहरुलाई यहाँ ल्याए पनि पछिल्ला वर्षमा सरकार र कांग्रेसले आफ्ना कुरा सुनुवाई नगरेको गुनासो गर्दै आएका छन ।
नेपाली कांग्रेसका तत्कालिन सभापति टीकाराम न्यौपाने कोइराला प्रधानमन्त्री र यातायातमन्त्री खुमबहादुर खड्काका कारण हुलाकी सडक र पुलका काम भएको स्मरण गर्छन । “गिरिजाबाबुको पालामा जे जति काम चितवनमा भए त्यसपछि ठूला काम हुन सकेनन्”, उनले भने ।
पार्टीको तर्फबाट गरिएका माग अनुसारका काम उनले गरेको न्यौपानेको भनाइ छ । जिल्लामा भएका कामहरुलाई अन्य पार्टीका नेताहरु पनि मुक्तकण्ठले प्रशंसा गर्ने गरेका छन् । नेकपा (एमाले)का पूर्व जिल्ला सचिव विजय सुवेदीले चितवनको विकास निर्माणमा कोइरालाको महत्वपूर्ण योगदान रहेको बताए । चितवन क्षेत्र नं। १ का पूर्वसांसद स्व जागृतप्रसाद भेटवाललाई उदृत गर्दै सुवेदीले पूर्वी चितवनमा ड्याक निर्माणका लागि अन्यत्रको बजेट काटेर यहाँ ल्याउन कोइरालाको योगदान रहेको बताए ।
नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले कोइरालाको स्मरण गर्दै गर्दा देशभरमै महत्वपूर्ण विकासका काम चितवनमा भएको बताए ।
शिक्षा, स्वास्थ्य, यातायातलगायतका पूर्वाधारमा उनको योगदान स्मरणीय रहेको उनको भनाइ छ । कोइरालाकै पालामा पूर्वी चितवनमा दूध प्रशोधन उद्योग स्थापना भएपनि त्यसले भने सफलता प्राप्त गर्न नसकेको उनको भनाइ छ । कोइरालाको आज स्मृति दिवस मनाउँदै गर्दा जिल्लावासीले उनले गरेका महत्वपूर्ण विकास निर्माणका कामलाई सम्झिरहेका छन् ।