प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलका लागि नेपाली टोलीको घोषणा

राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गर्नुभएको छ ।

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गर्नुभएको छ ।
    
मुख्य प्रशिक्षक एनेसले भोलिदेखि शुरु हुने उक्त प्रतियोगिताका लागि २३ सदस्यीय नेपाली खेलाडीको नाम सार्वजनिक गर्नुभएको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ । उहाँले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको आधारमा खेलाडी छनोट गर्नुभएको हो । 
    
प्रमुख प्रशिक्षक एनेसले उक्त प्रतियोगिता खेल्न नेपाली टोली तयारी अवस्थामा रहेको बताउनु भयो । उहाँको प्रशिक्षणमा नेपालले पहिलो पटक खेल्न लागेको हो । प्रशिक्षक एनेसले छोटो समयमा नै नेपाली टिम तयार गरेको भन्दै चुनौतीका साथ आफनो टोली खेल्न तयार रहेको बताउनु भयो । 
    
त्यस्तै नेपाली फुटबल टोलीका कप्तान किरण चेम्जोङले उक्त प्रतियोगिताका लागि छोटो तयारी भए पनि लाओसविरुद्ध खेल्न आफनो टोली तयार रहेको बताउनु भयो । उहाँले राष्ट्रका लागि राम्रो नतिजा ल्याउने उद्देश्यका साथ मैदानमा उत्रनेसमेत बताउनु भयो ।
    
छनोट हुने नेपाली टोलीको गोलकिपरमा कप्तान चेम्जोङसहित दीप कार्की र अभिषेक बराल छन् भने डिफेन्डरमा सनिश श्रेष्ठ, विकास खवास, अनन्त तामाङ, पदम भट्टराई, आदित्य चौधरी र निशान खड्का छन् । 
    
त्यस्तै मिडफिल्डरमा पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, रोहित चन्द, कमल थापा, मणिकुमार लामा र भरत खवास छन् भने फरवार्डमा आयुष घलान, नवयुग श्रेष्ठ,  दीपकसिंह ठकुरी, अन्जन विष्ट, आशिष चौधरी, सुमित श्रेष्ठ र मनिष डाँगी रहेका छन् । 
    
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा उक्त प्रतियोगिता यही चैत ८ देखि १७ गतेसम्म हुँदैछ । प्रतियोगितामा नेपाल, भूटान र लाओसले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले पाँच हजार अमेरिकी डलर प्राप्त गर्दा दोस्रो हुने टोलीले तीन हजार अमेरिकी डलर पाउने छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले पाँच सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले दुई सय ५० डलर पाउने छन् ।
    
उक्त प्रतियोगिताको भोलि हुने उद्घाटन खेलमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको खेल हेर्न चाहने दर्शकका लागि सामान्य प्यारापिटतर्फ रु पाँच सय र भीभीआइपीतर्फ रु एक हजार तोकिएको एन्फाले जनाएको छ । टिकट खल्ती एपबाट किन्न सकिनेछ । 

खबरपाटी
खबरपाटी