काठमाडौं । क्रिस्टियानो रोनाल्डो विश्व फुटबलमा सर्वाधिक धेरै क्याप (राष्ट्रिय टिमबाट खेल्ने) जित्ने खेलाडी बनेका छन्। उनी युरो छनोटअन्तर्गत समूह ‘जे’ को खेलमा लिचेस्टाइन बिरुद्ध मैदान प्रवेश गरेसँगै सर्वाधिक क्याप जित्ने खेलाडी बनेका हुन्। रोनाल्डोले सर्वाधिक १९७ औँ खेलमा पोर्चुगलको जर्सीमा मैदान प्रवेश गर्दै कीर्तिमान बनाएका हुन्। उनले यसअघि विश्वकपमा कुवेतका फरवार्ड बदेर अल-मुतावा समान १९६ क्याप जितेका थिए।
घरेलु मैदानमा पोर्चुगलले लिचेस्टाइनमाथि ४-० को सानदार जित दर्ता गर्दा पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले २ गोलसमेत गरे। साथै जोओ क्यान्सेलो र बर्नाडो सिल्भाले समान एक/एक गोल गरे। ३८ वर्षीय रोनाल्डोले करिअरमा कीर्तिमानी १२० अन्तर्राष्ट्रिय गोलसमेत पूरा गरे। उनले २००३ मा अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका थिए। उनी गत कतार विश्वकपमा पाँच विश्वकपमा गोल गर्ने खेलाडीको कीर्तिमान समेत बनाउन सफल भएका थिए।