प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको उपाधि नेपाललाई

घरेलु टोली नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको उपाधि नेपाललाई

काठमाडौं । घरेलु टोली नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रवार भएको फाइनलमा लाओसलाई २-१ गोल अन्तरले हराउँदै नेपालले उपाधि उचालेको हो । लोओसले बनाएको एक गोलको अग्रता उल्टाएर नेपाल च्याम्पियन बनेको हो । उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ भने लाओसले ३ हजार डलर प्राप्त गरेको छ। 

नेपालको जितमा आयुष घलान र मनिष डाँगीले एक एक गोल गरे ।  लाओसका फोउचाङभोङ साङ्भिले एक गोल गरे । खेलको १७ औं मिनेटमा फोउचाङभोङले गोल गर्दै लाओसलाई शुरुवाती अग्रता दिलाएका थिए । उनले बौनफाचन बौनकौनले प्रहार गरेको बल मणिकुमार लामालाई लाग्दै सिक्स यार्ड बक्समा झरेको थियो । जसलाई नजिकै रहेका फोउचाङभोङले वान टचमा पोस्टको जाली चुमाए ।

तर खेलको २४ औं मिनेटमा आयुषले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याएका थिए । एरिक विष्टले उपलब्ध गराएको पासमा आयुषले सुन्दर गोल गरे ।

त्यसपछि खेलको ८७ औं मिनेटमा मनिषले गोल गर्दै नेपाललाई २-१ को जित दिलाए । अन्जन विष्टले उपलब्ध गराएको पासमा मनिषले उत्कृष्ट गोल गरे ।

खेलको चौथो मिनेटमा लाओसका वौनफाचन वौनकौङले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गरेको बल पोस्ट माथिबाट बाहिरीएको थियो ।

 

खबरपाटी
खबरपाटी