कोसी प्रदेशको नामाकरण माओवादीको द्वैध चरित्र, पहिले पक्षमा भोटिङ, अहिले आन्दोलनमा साथ

कोसी प्रदेशको नामाकरणमा सत्तारुढ माओवादी केन्द्रको दोहोरो चरित्र

कोसी प्रदेशको नामाकरण माओवादीको द्वैध चरित्र, पहिले पक्षमा भोटिङ, अहिले आन्दोलनमा साथ

काठमाडौं । कोसी प्रदेशको नामाकरणमा सत्तारुढ माओवादी केन्द्रको दोहोरो चरित्र देखिएको छ । प्रदेश सभा बैठकमा प्रदेशको नामाकरणका बेला कोसीको पक्षमा भोटिङ गरेको माओवादीले अहिले सडक आन्दोलनमा साथ दिँदै आएको छ ।

पहिचानवादीहरूको आन्दोलन बढ्दै गएपछि माओवादीले राजनीतिक स्पेस जोगाउन आन्दोलनलाई समर्थन गरेपछि कांग्रेस र एमाले आक्रोशित भएका छन् ।

प्रदेश १ को पुनः नामांकनको माग गर्दै पहिचान पक्षधरले काठमाडौंमा संघीय मार्च गरेको थियो । पहिचान पक्षधरको आन्दोलनमा बृहत् नागरिक आन्दोलनले एेक्यवद्धता जनाउँदै संघीय मार्च गरेको हो ।

शुक्रबार बृहत् नागरिक आन्दोलन प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति किराँत याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, लिम्बू विद्यार्थी मञ्च केन्द्रीय कार्य समितिलगायतका पहिचानवादी संघसंगठनले संयुक्त रूपमा मार्च गरेका हुन् । जसमा माओवादीले पनि साथ दिएको छ ।

चैत ५ गते भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुू‘लाजेहाङ’को उपचारका क्रममा मृत्यु भएपछि आन्दोलन झन् चर्किएको छ । उनीहरुले पहिचानवादीहरू एक होऔं, प्रदेशको नाम कोशी खारेजीको माग र आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बूलाई सहिद घोषणा माग गरेका थिए । कोशी प्रदेशको नाम आफूहरूलाई स्विकार नहुने भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

संयुक्त संघर्ष समितिले चैत २५ गतेपछि विराटनगरमा निर्णायक आन्दोलन गर्ने निर्णयसमेत गरिसकेको छ । जसमा माओवादीले पनि साथ दिने भएको छ । माओवादी कोसी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो चढेको गाडी पहिचानवादीहरूले आक्रमण गरेपछि माओवादी तर्सिएको हो ।

चैत २५ गते अगाडि संघर्ष समितिले मानवअधिकार आयोग, संयुक्त राष्ट्रसंघ, र विदेशी नियोगहरूमा ध्यानाकर्षण गराउने, विभिन्न साहित्यिक कार्यक्रम गर्ने, गाउँ र जिल्ला जागरणका कार्यक्रम गर्ने, सामान्य खालका सांसद अवरोध र बहिष्कार जारी राख्ने र साझा नामको बहससमेत सुरु गरेका छन् । एमाले मुख्यमन्त्री हिक्मत कार्कीको प्रस्तावमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राप्रपाले कोसी नामको पक्षमा मतदान गरेका थिए । तर प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग तीव्र ढंगले उठेको छ ।

खबरपाटी
खबरपाटी