काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालको स्वास्थ्य प्रणालीको सुदृढीकरण गर्न ‘स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष वित्तीय प्रबन्ध परियोजना’ शुरु गरेको छ ।
मन्त्रालयले नेपालस्थित अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) को सहयोगमा तीन अर्ब २७ करोड बराबरको उक्त परियोजना आजदेखि सुरु गरेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार परियोजना स्वास्थ्य मन्त्रालय, कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र गुराँस गाउँपालिका, वीरेन्द्रनगर नगरपालिका र भेरीगङ्गा नगरपालिकालाई गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन वित्तीय सहायता प्रदान गरिने छ ।
परियोजनाले नेपाली नागरिकलाई उचित, उत्तरदायी र दिगो स्वास्थ्य सेवा प्रदान गर्न सङ्घीय र प्रादेशिक तहमा सरकारको स्वास्थ्य प्रणालीको सुदृढीकरण गर्ने उहाँले बताउनुभयो ।
मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले परियोजनाले नेपालीलाई गुणस्तरीय स्वास्थ्य सेवामा समतामूलक पहुँच दिलाउन नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना २०२२–२०३० का लक्ष्य हासिल गर्न सरकारलाई सहयोग गर्ने बताउनुभयो ।
“यो साझेदारी नेपालको स्वास्थ्य क्षेत्रमा दशकौँ लामो अमेरिकी सहयोगका साथै कोभिड–१९ महामारीको समयमा नेपालमा भएको सहकार्यका अनुभवमा आधारित भएकोले यस परियोजनामार्फत विकट भौगोलिक क्षेत्र तथा सीमान्तकृत समुदायमा जीवनयापन गरिरहेका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच बढाउन र उनीहरूको आकस्मिक अवस्था सम्बन्धी तयारी र प्रतिकार्य गर्न अझ सक्षम भएको सुनिश्चित गर्न सहयोग गर्नेछ”, उहाँले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
उहाँले परियोजनाले नेपाली नागरिकका निम्ति उपयुक्त र सुदृढ स्वास्थ्योपचार सेवा हासिल गर्ने दिशामा एउटा महत्त्वपूर्ण कदम हुने अपेक्षा गरिएको छ ।