सिंहदरबारको फोहोर अब काठमाडौं महानगरले उठाउन नपर्ने, बालेनको खप्की सुन्न नपर्ने

अबदेखि सिंहदरबार क्षेत्रमा उत्पादन हुने फोहोर काठमाडौं महानगरपालिकाले उठाउन नपर्ने

सिंहदरबारको फोहोर अब काठमाडौं महानगरले उठाउन नपर्ने, बालेनको खप्की सुन्न नपर्ने

काठमाडौं । अबदेखि सिंहदरबार क्षेत्रमा उत्पादन हुने फोहोर काठमाडौं महानगरपालिकाले उठाउन नपर्ने भएको छ । सरकारले सिंहदरबारमा उत्पादन भएको फोहोर उठाउने जिम्मा निजी कम्पनीलाई दिएपछि अब महानगरको खप्की र धम्की सुन्न नपर्ने भएको छ ।

सहरी विकास मन्त्रालयले अहिले सिंहदरबार क्षेत्रमा उत्पादन भएका फोहोरमध्ये कुहिने कम्पोस्ट मल बनाउने, त्यहीँ खाडलमा हाल्ने र नकुहिने फोहोर कवाडीलाई बेच्ने गरी एक निजी कम्पनीलाई जिम्मा दिइएको छ । बागमती नदी किनारका सुकुम्बासी बस्ती उठाउन गृह र सहरी विकास मन्त्रालयले सहयोग नगरेपछि काठमाडौंका मेयर बालेन्द्र साहले सिंहदरबारको फोहोर नउठाउन निजी कम्पनीलाई निर्देशन दिएका थिए । जसकारण सिंहदरबारमा नौ टन जति फोहोर थुप्रिएको थियो । अब संघीय सरकारले फोहोरको जिम्मा लिएपछि काठमाडौं महानगरपालिकालाई हलुका भएको छ ।

महानगरको निर्देशनपछि सिंहदरबार, राष्ट्रपति कार्यालय वरिपरि फोहोर थुप्रिएको थियो । अब त्यहाँको फोहोर चाँडै उठ्ने भएको छ । काठमाडौंको फोहोरमा अर्र्बौ रुपैयाँको खेल छ । विभिन्न कम्पनीले फोहोरबाट चार अर्बभन्दा बढी कमाउने गरेका छन् ।

यसैबीच, काठमाडौंका मेयर बालेनविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा राखिएको छ । मंगलबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा परेको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको हो । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, प्रधानमन्त्रीको सरकारी निवास र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर साहविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो ।

अधिवक्ता पदम श्रेष्ठले काठमाडौँ महानगरपालिकाले कानुनविपरीत फोहोर सङ्कलन नगरेको उल्लेख गर्दै तत्काल फोहोर सङ्कलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर सङ्कलन र विसर्जन गर्नु पर्नेलगायतका मागसहित सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत विपक्षी बनाइएको छ ।

खबरपाटी
खबरपाटी