काठमाडौं । मिटरब्याज पीडितले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् ।
सोमबार शान्तिवाटिकामा प्रहरीको लाठी प्रहारबाट मिटरब्याज पीडितहरु घाइते भएका थिए भने कतिपय पक्राउ परेका थिए ।
मंगलबार दिउँसो मिटरब्याज पीडितले उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठविरुद्ध नाराबाजी गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन् । आफूहरुको माग सम्बोधन गर्नुको साटो श्रेष्ठले प्रहरी लगाएर दमन गरेको उनीहरुले बताएका छन् ।
सिंहदरबारबाहिर प्रदर्शन गर्ने तयारीमा रहेका मिटरब्याज पीडितलाई सोमबार प्रहरीले शान्तिवाटिकामा नै रोकेको थियो । त्यस क्रममा मिटरब्याज पीडितलाई रोक्न प्रहरीले लाठीचार्ज र पानीको फोहोरा प्रयोग गरेको थियो ।
सरकारले भने मिटरब्याज पीडितको समस्या समाधानका लागि आयोग गठन गरिसकेकाले सबै समस्या आयोगले समाधान गर्ने भन्दै मिटरब्याज पीडितलाई आन्दोलन फिर्ता लिएर गाउँ फर्किन आग्रह गरेको छ ।