चुनावी प्रचारमा आफ्नो प्रशस्ती गाउन रविले गरे चार दर्जनभन्दा बढी युट्युबे परिचालन

रास्वपाले गाउँगाउँमा आफ्नो प्रभाव बढाउन मनग्गे खर्च

चुनावी प्रचारमा आफ्नो प्रशस्ती गाउन रविले गरे चार दर्जनभन्दा बढी युट्युबे परिचालन

काठमाडौं । गत मंसिरको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई ग्रामीण क्षेत्रबाट कम भोट आएको थियो । जति भोट बटुलेको थियो, सबै सहरबाट पाएको थियो । त्यही कारण अहिले रास्वपाले गाउँगाउँमा आफ्नो प्रभाव बढाउन मनग्गे खर्च गरिरहेको छ ।

चितवनबाट प्राप्त समाचारअनुसार रास्वपाका कार्यकर्ता र समर्थकले मतदातालाई प्रभावित पार्न कालिका नगरपालिका र इच्छामनकामना गाउँपालिकामा बोराका बोरा चामल ढुवानी गरिरहेका छन् । जहाँ जसलाई जे अभाव छ त्यो पूरा गरिदिनु भन्ने आदेश रविले दिएका छन् । मंसिरको निर्वाचनमा रवि लामिछानेलाई कालिाका र इच्छा मनोकामनाबाट निकै कम मत आएको थियो । सोही कारण अहिले रास्वपाका कार्यकर्ता समर्थकले गाउँलार्ई टार्गेट बनाएको बुझिएको छ ।

यसपटक भरतपुर महानगरपालिकाका १० वटा वडामा निकै कम मत खस्ने र त्यसमा पनि कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपानेलाई धेरै जाने भएकाले रवि आत्तिएका छन् । रवि, रमेश र स्वर्णिमलाई चुनाव खर्च विदेशी दातृनिकाय र क्रिस्चियनसँग सम्बन्धित संघसंस्थाले पठाउने गरेको स्रोतले बतायो । मुख्य सहयोगी भने युरोपियन युनियन रहेको बताइन्छ ।

रवि समूहले अहिले काठमाडौंबाट धेरै मानिस लगेर भरतपुरमा परिचालन गरेको बुझिएको छ । जहाँ गए पनि चालीस पचासजना जति युट्युबे बोकेर हिँड्ने गरेका रविले सामाजिक सञ्जालमा प्रभाव जमाउन डेढ सय जति एक्सपर्टलाई परिचालन गरेको विशेष स्रोतले बतायो । रविले ठूला दलका नेतालाई गाली गरेको भिडियो राखेर अहिले दर्जन बढी युट्युबेले डलर झारिरहेका छन् । त्यसैले उनीहरू रविको प्रशस्ती गाउने समाचार मात्र हालिरहेका छन् ।

अहिले रविको विरुद्धमा कसैले सामाजिक सञ्जालमा लेख्यो बोल्यो भने रास्वपाका साइबर सेल एकैपटक झम्टिने गरेका छन् । रविको प्रचार प्रसारमा हिँडेकालाई मदिरा फ्रि गरिएको पाइएको छ । सोमबार बिहान उनकै गाडी चालक घरको छतबाट तल खसेर घाइते भए । उनको अहिलेसम्म होस खुल्न सकेको छैन । उनको कोठामा पनि मदिराको बोतल प्रहरीले फेला पारेको छ । पूर्वगृहमन्त्री भएकाले प्रहरीले सबै तथ्य बाहिर ल्याउन डराइरहेको छ ।

सामाजिक सञ्जालमा यतिबेला रवि विरोधीको उछितो काढ्न थालिएको छ । आफूलाई भोट नदिने र विरोध गर्नेको रविका समर्थकले हुर्मत लिने गरेका छन् । अहिले भरतपुरमा रविकै कारण देशले करोडौं गुमाउनुपरेको भन्दै आक्रोशित हुनेको संख्या बढ्दै गएको छ । त्यही भएर रविले यसपटक १५ हजारभन्दा बढी भोट गुमाउने आकलन गरिएको छ ।

खबरपाटी
खबरपाटी