रेडक्रस सोसाइटी पारदर्शी ढङ्गले अगाडि बढ्न सकेनः सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विपद्को समयमा खोज तथा उद्धारदेखि विपद्को क्षति न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको नेपाल रेडक्रस सोसाइटी पारदर्शी ढङ्गले अगाडि बढ्न नसकेको बताउनुभएको छ ।

रेडक्रस सोसाइटी पारदर्शी ढङ्गले अगाडि बढ्न सकेनः सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विपद्को समयमा खोज तथा उद्धारदेखि विपद्को क्षति न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको नेपाल रेडक्रस सोसाइटी पारदर्शी ढङ्गले अगाडि बढ्न नसकेको बताउनुभएको छ ।

आज नेपाल रेडक्रस सोसाइटी झौखेल उपशाखाको नवनिर्मित भवनको उद्घाटन गर्दै उहाँले सामाजिक कार्यमा अगाडि बढ्ने रेडक्रस पारदर्शीकै कुरालाई लिएर चर्को विवादमा आउनु दुःखद् भएको बताउनुभएको हो । 

रेडक्रसमा पारदर्शी ढङ्गले काम नभएको, विभिन्न खालको स्वार्थमा रुमल्लिएको भन्दै उहाँले छिट्टै यस्ता समस्याको समाधान गरी अगाडि बढ्न नसके अन्तर्राष्ट्रिय क्षेत्रमै नेपालको छवि बिग्रने बताउनुभयो । सभामुख घिमिरेले रेडक्रसको विवादबारे अध्ययन र अनुसन्धान गर्न विदेशी टोली नेपाल आएर काम गरिरहेको अवस्थामा रेडक्रसकर्मी सबैले विवादलाई हल गर्न एकजुट भएर सघाउनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा भक्तपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य प्रेम सुवालले रेडक्रसजस्तो सामाजिक संस्थामा भ्रष्टाचार, अनियमतिता र करोडौँ चलखेल हुनु दुःखद् भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कमिटीका उपमन्त्री एवं भक्तपुर शाखाका सभापति मनोजकुमार थापाले रेडक्रसलाई प्रजातान्त्रिक ढङ्गले चल्न दिनुपर्नेमा पटक–पटक हस्तक्षेप भइरहेको बताउनुभयो ।

कुल रु ५५ लाख १७ हजार एक सय दुईको लागतमा रेडक्रसको भवन निर्माण सम्पन्न भएसँगै आज उद्घाटन गरिएको हो । भवन निर्माणका लागि चाँगुनारायण नगरपालिका–३ बाट दुई आर्थिक वर्षमा विनियोजित रु २३ लाख, रेडक्रस भक्तपुर शाखाबाट रु दुई लाख, विभिन्न संस्था र व्यक्तिगत सहयोग दाताबाट रु १५ लाख ६१ हजार आठ सय ७६ गरी कुल रु ३९ लाख ५८ हजार एक सय १४ को आर्थिक सहयोग प्राप्त भएको थियो ।रासस

खबरपाटी
खबरपाटी