अहिले चितवन-२, तनहुँ-१ र बारा-२ गरी तीन वटा उपनिर्वाचन क्षेत्रको मतगणना जारी छ।
राति ११ बजेसम्मको परिणाम अनुसार चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले अग्रता कायमै राखेका छन् ।पछिल्लो मतपरिणाम अनुसार लामिछाने १० हजार १३० मतसहित अगाडि छन्।
नेकपा एमालेका रामप्रसाद न्यौपाने ३ हजार ३५७ मतसहित दोस्रो र नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठ ३ हजार १६८ मतसहित तेस्रो स्थानमा छन् ।
तनहुँ क्षेत्र नम्बर १ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीकै स्वर्णिम वाग्लेको अग्रता छ। आधा बढी मत गणना गरिसक्दा वाग्लेले फराकिलो मतान्तरलाई कायमै राखेका छन् । वाग्ले २५ हजार १४१ मतसहित पहिलो स्थानमा छन्।
नेपाली कांग्रेसका गोविन्द भट्टराईले १४ हजार ४६२ मतसहित दोस्रो र नेकपा एमालेका सर्वेन्द्र खनाल ७ हजार ९१ मतसहित तेस्रो स्थानमा छन् । रास्वपाका वाग्लेले सुरूआतीदेखि नै अग्रता लिएका थिए।
मतगणना अन्तिमतिर आइपुग्दा रास्पा उम्मेदवार वाग्लेको मतान्तर फराकिलो भएपछि कांग्रेस उम्मेदवार भट्टराईले हार स्वीकारेको अभिव्यक्ति आफ्नो फेसबुकमा पोखेका छन् ।
उनले मतदातालाई धन्यवाद दिँदै आफूलाई अब्बल सावित गर्न नसकेको बताएका छन् । यस्तै, बारा क्षेत्र नम्बर २ मा भने जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपेन्द्र यादवले अग्रता लिएका छन् । उनलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहाले पछ्याइरहेका छन्।
ताजा मतपरिणाम अनुसार यादवले ३ हजार ७८१ मत प्राप्त गरेका छन् भने कुशवाहाले २ हजार ९८१ मत पाएका छन् । नेकपा एमालेका पुरूषोत्तम पौडेल एक हजार ६४० मतसहित तेस्रो स्थानमा छन् ।