लुम्बिनीमा नयाँ सरकार गठनमा ढिलाइ

नेकपा एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारले विश्वासको मत नपाएको दुई दिनसम्म पनि नयाँ सरकार निर्माण प्रक्रियाले प्रवेश पाउन सकेको छैन ।

लुम्बिनीमा नयाँ सरकार गठनमा ढिलाइ

काठमाडौं । नेकपा एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारले विश्वासको मत नपाएको दुई दिनसम्म पनि नयाँ सरकार निर्माण प्रक्रियाले प्रवेश पाउन सकेको छैन । 

प्रदेश प्रमुख अमिक शेरचन कानुनी परामर्शमा रहनुभएकाले सरकार गठनका लागि आह्वानमा ढिलाइ भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । नेपालको संविधान धारा १६८ बमोजिम प्रदेश प्रमुखले प्रदेश सरकार गठनसम्बन्धी व्यवस्था छ । 

नेकपा ९एमाले० संसदीय दलका नेता तथा मुख्यमन्त्री लिला गिरीले सोमबार प्रदेशसभामा विश्वासको मत पाउन नसकेपछि एमाले नेतृत्वको सरकार ढलेको हो । त्यसलगत्तै बसेको मन्त्रिपरिषद्को बैठकले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार गठन हुनुपर्ने भन्दै प्रदेश प्रमुखलाई सोहीअनुसार आह्वान गर्न अनुरोध गरेको थियो । 

त्यसअघि एमाले संसदीय दलको बैठकले पनि धारा १६८ को उपधारा २ अनुरुपको सरकार निर्माण भएर विश्वासको मत गुमाएपछि स्वभाविकरुपमा उपधारा ३ अनुसार सरकार निर्माणका लागि आह्वान गर्नुपर्ने आफूहरुको दाबी रहेको एमाले प्रमुख सचेतक तुल्सी चौधरीले बताउनुभयो । विपक्षी आठ दलले धारा १६८ को उपधारा २ अनुसार सरकार बनाउन दाबी पेश गरेपछि प्रदेश प्रमुख शेरचनले परामर्श थाल्नुभएको हो । 

प्रदेश कार्यालयका सचिव प्रह्लाद पोखरेलले प्रदेश प्रमुखबाट छिट्टै सरकार बनाउने गरी आह्वान हुने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश प्रमुख कानुनी परामर्शमै हुनुहुन्छ सम्भवतः भोलिसम्ममा नयाँ सरकारका लागि आह्वान हुनसक्छ ।”  रासस

खबरपाटी
खबरपाटी